काठमाडौं । मादी-मर्स्याङ्दी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो ।
बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख नौ हजार पाँच सय ४८ मा ठेक्का सम्झौता गरेको थियो ।
उक्त निर्माण कम्पनीले ०८१ असार ३० मा सम्पन्न गर्ने गरी ०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । उक्त करिडोरमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सम्पर्कमा आई तुरून्त काम गर्नु नत्र ठेक्का तोड्नेसम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडक खण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ । ‘टायल सेक्सन’ गर्दा नबसेपछि कलेस्ती-गजौड सडकखण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ’, कार्कीले भने, ‘अहिले टुहुरेपसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ ।’
मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती–गजौड सडकखण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ । उक्त करिडोरअन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया