कांग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन् : अध्यक्ष भट्टराई

लोकपथ
224
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । जनकपुरधाममा शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताए । उनले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताए । भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको बताए ।

अध्यक्ष भट्टराईले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने  बताए । उनले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरुले बनाएको  बताए । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरुको छानबिन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता जनाए ।

संघीयताका अपूर्णतालाई कानुनहरु छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताए । केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् मोडलबाट जाने गरी आफूहरू अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?