काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटनलाई बढवा दिनुपर्नेमा जोड दिएका छन् । आज काभ्रेपलाञ्चोकको पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘आन्तरिक पर्यटन जति धेरै चलायमान हुन्छ, त्यति पर्यटकीय महत्त्व बढ्छ, त्यसलै हामीले आन्तरिक पर्यटनलाई पनि जोड दिनु आवश्यक छ ।’
उनले छिमेकी देश समृद्ध हुँदा पनि त्यसको फाइदा नेपालको पर्यटन क्षेत्रलाई हुने धारणा राखे । ‘छिमेकी मुलुक भारत र चीनलगायतका देश समृद्धिको दिशामा अगाडि बढेका छन्, यो हाम्रो लागि पनि राम्रो विषय हो’, उनले भने । विभिन्न जाति, चाडपर्व, भेषभुषा, खानपानका हिसाबले विविधतापूर्ण नेपालमा पर्यटननै विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख माध्यम भएको उनको भनाइ थियो ।
उनले विश्व सम्पदामा सूचीकृतका पहल गरिरहेको ऐतिहासिक एवं पुरातात्त्विक नगर पनौतीलाई सूचीकृत योग्य बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस अवसरमा मन्त्री पाण्डेले पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका जात्रा पर्वहरू–३’ नामक पुस्तकको लोकार्पण गर्नुभयो । साथै स्थानीय प्रेमबहादुर महाजू, महेश कर्माचार्य र इन्द्रकुमारी खड्कालाई मन्त्री पाण्डेले ‘प्रजातान्त्रिक योद्धा’का रुपमा सम्मान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया