सिराहामा एक वर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना

लोकपथ
21
Shares

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको जनाएको छ । ‘मानवअधिकार वर्ष पुस्तक सन्-२०२५’को समीक्षा कार्यक्रममा शनिबार इन्सेकले गैरराज्य पक्षबाट ८७ र राज्यपक्षबाट एउटा मानवअधिकार उल्लङ्घनको घटना घटेको जानकारी दिएको हो । 

इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा बलात्कार, हत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटना घटेका छन् । उनका अनुसार यस अवधिमा १३ बालिका बलात्कार घटनाबाट पीडित भएका छन् भने ६ बालिका यौन दुर्व्यवहार घटनामा पीडित भएका छन् । 

त्यसै गरी, ११ वटा बलात्कारका घटना घटेको र सात वटा बलात्कार प्रयासका घटना भएका छन् । पाँच पुरुष र पाँच महिलाको परिवारजनबाटै हत्या भएको छ । बहुविवाहका सात वटा घटना घटेका छन् ।  

गाउँ निकाला, झडप, ढुङ्गामुढा, नाकाबन्दी, आत्महत्या दुरुत्साहन, घरेलु हिंसालगायतका मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । स्थानीय तहहरूका न्यायिक समितिमा पीडितहरूले विश्वास नगरेको देखिएको छ । 

वर्ष पुस्तक समीक्षा कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कट्टेलले प्रहरी जनशक्ति पर्याप्त नभएकाले अपराध नियन्त्रण र लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणमा चुनौती देखिएको बताउँछन् । 

त्यसै गरी, मधेस प्रदेशसभाका सदस्य राजेन्द्रप्रसाद चौधरीले समाजमा हिंसा न्यूनीकरणका लागि कानुन कार्यान्वयनको पक्ष फितलो रहेको बताउँदै आम नागरिक सचेत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?