संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा 

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन् । 

महामन्त्री थापाले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने न्यूनतम कुराहरुको संशोधन हुने बताए । 

उनले संयन्त्रले सुरुमा कांग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे । उनले एमाले र कांग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । संसद्लाई अझै समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्न नसक्ने गरीकन संविधान संशोधन गर्ने बताए ।

महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जान सक्ने हैसियत बनाउनुपर्ने बताए । उनले अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिने गरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको सुरुवात गर्न आवश्यक भएको बताए । नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा कांग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताए । 

महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए । उनले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताए । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरु देखिने गरी काम गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?