काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेस भएको छ । सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेस गरेको हो ।
अहिले कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेस गरिएको जानकारी दिइन् । जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्यामनारायण पराजुलीले अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको रायबमोजिम मुद्दा दायर गरेको हो । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।
लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले रविमाथि सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रबार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
शुक्रबार मुद्दा दर्ता भएकाहरू सबै प्रतिवादीहरू फरार रहेका छन् । १९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।
तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई संगठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक कसुर थपिएको थियो । जीबी राईका हकमा उनलाई १५ वर्षसम्म कैद र साढे २ अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको छ । राईलाई सहकारी ठगीमा ६ देखि ८ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय, राष्ट्र बैंक ऐन २०५८ बमोजिम ३ वर्षसम्म कैद र सम्पत्ति शुद्धीकरण कसुरमा २ देखि १५ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना मागदाबी गरिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजीसमेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया