कुनै बेला नेकपा एमालेमा मात्र होइन नेपाली राजनीतिमा नै शक्तिशाली नाम थियो वामदेव गौतम । पार्टीको नवौँ महाधिवेशन र त्यसपछि पनि ‘जता वामदेव, उतै बहुमत’ भन्ने भाष्य थियो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्नेदेखि विभिन्न कालखण्डमा नेपाली राजनीतिमा वामदेवको छुट्टै छाप थियो । नेकपा एमालेको उपाध्यक्ष मात्र होइन तत्कालीन नेकपाको उपाध्यक्षसमेत भइसकेका वामदेव अहिले आफैँ बिलखबन्दमा छन् ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीले अहिले उनी पुनः चर्चामा छन् । नेपालमा कम्युनिस्ट पार्टीको एकता र विभाजनका विभिन्न कालखण्डका साक्षी मात्र होइनन् वामदेव सूत्रधारसमेत मानिन्छन् । २०५४ सालमा एमाले पार्टी नै विभाजन गरेका वामदेव २०७५ सालमा माओवादीसँग पार्टी एकता, त्यसपछिको विभाजन र त्यसपछिका कालखण्ड उतारचढावपूर्ण छ उनको राजनीतिक जीवन ।
पार्टी विभाजन हुँदाको चोट कस्तो हुन्छ भन्ने भोगेका वामदेव केही वर्ष नेपाल कम्युनिस्ट पार्टी एकता अभियानमा लागे । कतै छिन्नभिन्न कम्युनिस्ट एकता गर्न सकिन्छ कि भन्ने चाहना उनकै अस्थिर चरित्रका कारण पूरा भएन । त्यसपछि उनी आफैँ एकीकृत समाजवादीमा प्रवेश गर्ने जमर्कोमा छन् ।
पूर्व उपप्रधानमन्त्री समेत भइसकेका गौतम आफैँले निर्माण गरेको पार्टी नेकपा एमालेमा जान मरिहत्ते गर्दै थिए । उनी कहिले आफ्ना सहयोगी मार्फत् त कहिले आफैँ एमालेमा जान तयार रहेको बताउँथे । २०८० साल जेठ २४ गते राष्ट्रिय सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग खुलेरै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए आफू पार्टी सदस्यता नवीकरण गरेर जान तयार रहेको बताएका थिए ।
उनले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) लाई तीन पटक भेटेर र तीन पटक फोनमा कुरा गरेको छु । मलाई लैजानुस् । मैले पनि बनाएको पार्टी हो भनेको छु । उहाँले तपाईँ नै हो हाम्रो पार्टीको निर्माणकर्ता हो, हामी जेल पर्दा तपाईंले नै हो पार्टी बनाएको भन्नुभएको छ । म फेरि गएर योगदान गर्न तयार छु । म आफू त जाने कुरा भएन । मेरो सदस्यता नवीकरण गर्न म श्रीमती तुलसा थापालाई पठाउँछु । सदस्यता नवीकरण गर्छु । वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहाँ योगदान दिन तयार छु ।’
त्यस बेला मात्र होइन अन्य सार्वजनिक कार्यक्रमहरूमा पनि उनी आफूले निर्माण गरेको पार्टी एमालेमा गएर पुनः योगदान दिन तयार रहेको बताउँथे ।
२०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा तत्कालीन नेकपामा खुसीयाली थियो ।
एकातिरको माओवाद र अर्कोतिरको जनताको बहुदलीय जनवादको फ्युजनमा बिस्तारै समस्या देखिन थाल्यो । ओली पहिलो अध्यक्षका रूपमा आफ्नै गुट निर्माणमा हुँदा, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल अर्को कित्तामा उभिइसकेका थिए ।
त्यसबेला वामदेव गौतम भने आफ्नै शक्ति संघर्षमा थिए । कहिले ओलीतिर त कहिले प्रचण्ड–माधव खेमातिर देखिने उनी दुवै अध्यक्षलाई मिलाएर उपाध्यक्ष बन्न सफल भएका थिए । त्यतिमात्र होइन पार्टी भित्रको शक्ति सन्तुलनमा कहिले ओली र कहिले प्रचण्डतिर लागेर भूमिका खेले । अझ भनौँ, दुवै पक्षले अप्ठेरो पर्दा उनलाई मजैले प्रयोग गरे ।
२ दशकअघि पार्टी विभाजनको आरोपलाई २०७४ को निर्वाचन हुँदै २०७५ मा पार्टी एकता गराएर त्यसको दोष मेटाएका वामदेव २०७७ सालमा तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि निष्क्रिय बन्न पुगे । वामपन्थी एकताको अन्तर्घुलनमा परेका नेताहरू विभाजनपछि कोही कुन कित्तामा पुगे, कोही कुन कित्तामा । तर वामदेव न यताको बने न उताको ।
ओलीको संसद् विघटनलाई मान्न तयार नभएका वामदेव पुनः वामपन्थी एकताका लागि लागे । एमालेबाट पार्टी विभाजन गरेर नयाँ दल बनाएका माधव नेपालको एकीकृत समाजवादीमा प्रवेश गर्ने डर देखाउँदै एमालेसँग बार्गेनिङ गरेका वामदेवको कुनै अस्त्रले काम गर्न सकेन ।
नेकपा एकता भंग भइसकेको र वामदेवले एमाले छाडिनसकेको अवस्थामा वामपन्थी शक्ति एक बनाउन आफूलाई जिम्मेवारी दिन ओलीसामू पटक पटक आग्रह गरे । तर अस्थिर चरित्रका वामदेवलाई ओलीले कुनै वास्ता नगरेपछि २०७८ साल भदौ ८ गते ओलीमाथि कटाक्ष गर्दै उनी आफैले बनाएको एमाले छाडेर हिँडे ।
‘पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ, तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रूपमा सुझाव पनि दिएँ, तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो,’ वामदेवले राजीनामा दिँदै भनेका थिए ।
ओलीकै जोडबलमा २०७७ साल असोज १ गते २०७४ मा प्रतिनिधि सभा निर्वाचनमा पराजित वामदेव राष्ट्रिय सभा सदस्य बनेका थिए । त्यसबेला पनि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने वामदेवको कडा माग थियो । तर त्यसको पार तत्काल लाग्ने नभएपछि उनी लुसुक्क राष्ट्रिय सभा सदस्य बन्न तयार देखिए ।
पार्टी विभाजनपछि एकता अभियानमा लागेका वामदेवको मन भने एमालेतिरै थियो । ओलीले कुनै हालतमा ‘ग्रीन सिग्नल’ नदिएपछि उनी घुमाउरो बाटो प्रयोग गरेर एमाले प्रवेशको तयारीमा थिए । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा आउने चर्चाकाबीच सोही बाटोबाटै वामदेव एमाले प्रवेशको तयारीमा थिए । कहिले आफ्ना निकट त कहिले आफैँले भण्डारीलाई भेटेर एमाले प्रवेशको जमर्को गरेका वामदेवलाई सो बाटो गलत हुने भन्दै निकटस्थहरूले रोकिदिए ।
उतारचढावपूर्ण राजनीति भोगेर आएका वामदेव राजनीतिको उत्तराद्र्धमा आइपुग्दा फाइदाको राजनीति कताबाट हुन्छ भन्ने दाउ हेरे । कठिन अवस्थामा आफूसँगै उभिएका हरि पराजुलीहरुलाई एकीकृत समाजवादीमा पठाएका वामदेवले दुवै पार्टीसँग समानान्तर रूपमा छलफललाई अघि बढाए ।
अहिले एमाले बाह्य रूपमा एकढिक्का जस्तो देखिएको छ । संसदीय अंक गणितका हिसाबले समेत दोस्रो ठूलो दल बनेको एमालेलाई वामदेव आउनु र नआउनुमा कुनै फरक नदेखिने भन्दै ओलीले त्यसबारे चासो नदिएपछि एमालेबाट वामदेवको मन मरेको नेताहरू बताउँछन् । गत निर्वाचनमा राष्ट्रिय शक्तिसमेत बन्न नसकेको दल एकीकृत समाजवादीका लागि वामदेवको उपस्थितिले ठूलो असर गर्ने नेताहरू बताउँछन् ।
एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले वामदेवलाई स्वागत गर्ने निर्णय नै गरिसकेको छ । नेताहरूको जिम्मेवारी बाँडफाँटका लागि बसेको बैठकमा वामदेवको आगमनको विषयले प्राथमिकता पाएसँगै वामदेवको उपस्थिति एकीकृत समाजवादीलाई कति महत्वपूर्ण रहेछ भन्ने पुष्टि गर्छ । बैठकको निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भनेका थिए, ‘वामदेव गौतमसँग कुराकानी भइरहेको छ । उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ । पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नका लागि संवादलाई अगाडि बढाउने ठाउँमा पुगेका छौँ ।’
‘असारमा सम्पन्न हाम्रो १०औँ राष्ट्रिय महाधिवेशनले जे–जे कुरा पास गर्यो त्यही कुरा मान्न उहाँ तयार हुनुहुन्छ । त्यही भएर नै उहाँ हाम्रो पार्टीमा आउन तयार हुनुभएको हो ।’…
त्यसो त गत निर्वाचनमा वामदेवले एकीकृत समाजवादीको गीत नै लेखेर एकीकृत समाजवादीतिरको झुकाव स्पष्ट पारिसकेका थिए ।
‘एकीकृत समाजवादी हाम्रो पार्टी हो, क्रान्तिकारी विकास गर्न जन्मिएको हो,’ वामदेवको गीतले पनि त्यहिबेला उनी एकीकृत समाजवादीमा प्रवेश गरे कुनै अचम्म नमाने हुन्छ भन्ने सन्देश दिएका थिए ।
गीतमार्फत आफ्नो पार्टी एकीकृत समाजवादी हो भन्ने वामदेवको सन्देशअनुसार नै स्थायी कमिटी बैठकले नै महत्व दिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपाल केही नेताहरूसहित गत बिहीबार वामदेव निवास भैँसेपाटी पुगे ।
उक्त बैठकमा अध्यक्ष नेपालसहित संगठन विभाग प्रमुख डा. वेदुराम भुसाल र स्थायी कमिटी सदस्य बलराम बास्कोटा एकीकृत समाजवादीको तर्फबाट उपस्थित हुँदा उताबाट वामदेवसहित उनी निकट डिबी कार्की छलफलमा सहभागी थिए ।
उक्त बैठकमा एकीकृत समाजवादी र वामदेव नेतृत्वको नेकपा एकता अभियानबीच एकता हुने र त्यसका लागि कार्यदल बन्ने बताइएको थियो । तर अझै कार्यदल नबनेको एकीकृत समाजवादीका प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले लोकपथलाई जानकारी दिए ।
‘लामो समयदेखि उहाँ हाम्रो पार्टीमा आउने कुरा भइरहेको थियो । मलाई लाग्छ एक डेढ वर्षदेखि नै उहाँ निरन्तर हाम्रो पार्टीमा आउने विषयमा छलफलमा हुनुहुन्थ्यो,’ उनले भने, ‘औपचारिक रूपमा कार्यदल चाहिँ बनिसकेको छैन । तर उहाँ आउने पक्का हो । हामीले केही दिनअघि सम्पन्न स्थायी कमिटी बैठकमा उहाँलाई एकीकृत समाजवादीमा भित्र्याउने विषयमा छलफल ग¥यौँ । आउने कुरामा कुनै शंका छैन तर डकुमेन्टमा भने सही भने भैसकेको छैन ।’
त्यसो त एकीकृत समाजवादीले अँगालेको २१औँ शताब्दीको जनवादमा वामदेव सन्तुष्ट थिएनन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई स्वीकार नगरे एकीकृत समाजवादीमा नजाने अडानसमेत वामदेवले कायम राखेका थिए ।
उहाँ जबज नभई पार्टी प्रवेश गर्न नमानेको भन्ने कुरा पनि चर्चामा छ नि भन्ने लोकपथको प्रश्नमा अर्यालले भने, ‘असारमा सम्पन्न हाम्रो १०औँ राष्ट्रिय महाधिवेशनले जे–जे कुरा पास गर्यो त्यही कुरा मान्न उहाँ तयार हुनुहुन्छ । त्यही भएर नै उहाँ हाम्रो पार्टीमा आउन तयार हुनुभएको हो ।’
वामदेव एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरियताअनुसार वरिष्ठ नेता बन्नेछन् ।
लामो राजनीति जीवन भोगेर आएका र आफैँले निर्माण गरेको पार्टीमा जान पनि प्रवेश नपाएजस्तो देखिँदा त्यसबीचमा धेरै घटनाक्रम घटित छन् । मुल पार्टीमा प्रवेश नपाए पनि त्यसबाट चोइटिएर बनेको एकीकृत समाजवादीमा नै वामदेवका आगामी राजनीतिक दिनहरु बित्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया