आईसीटी अवार्ड २०२४: १५ विधामा अवार्ड वितरण, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘रिकग्निसन’ प्रदान 

लोकपथ
105
Shares

काठमाडौं । लिभिङ विथ आईसीटी आयोजना गरेको नवौँ संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एसोसिएसन विथ नेपाल पे क्युआर, जेनेस एन्ड जुम’ सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘रिकग्निसन’ प्रदान गरिएको हो।

ह्यात रिजेन्सी काठमाडौंमा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौं विश्वविद्यालयका सस्थापाक प्राडा सुरेश राज शर्मालाई प्रदान गरे ।

एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिङ र कार्ड विभाग प्रमुख वन्दना शर्माले प्राप्त गरिन । यसै गरी, प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आईसीटी अवार्ड नामीका संस्थापक डा. विशेष खनालले प्राप्त गरे । आन्टरप्रेनर्स आईसीटी अवार्ड फुडमान्डुका संस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आईसीटी अवार्ड न्युरल कम्पनीका सह–संस्थापक नामी बरालले प्राप्त गरिन्।    

यस वर्षको इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिम्सन टेक कम्पनीले जित्न सफल भयो भने द एसिया फाउन्डेसन सोसियल इनोभेसन आईसीटी अवार्ड २०२४ जियो कृषिले प्राप्त गरेको छ । यस वर्षको प्रडक्ट आईसीटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्‍यो भने राईजिङ स्टार इनोभेसन अवार्ड स्पिकअपले जित्न सफल भएको छ ।

सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रो पे पब्लिक च्याइस अवार्ड ज्यापू सर्भिसेसले प्राप्त गर्‍यो । सातै देशहरूका स्टार्टअपहरू लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आईसीटी अवार्ड २०२४ भारतको हाई फन एससीएसले जितेको छ । अवार्डमा उत्कृष्ट ५ मा पर्न सफल अन्य देशका स्टार्टअपलाई पनि सम्मान गरिएको थियो ।

यसै गरी, संस्थागत अवार्ड विधाहरूमा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आईएमई पेले जित्न सफल भएको छ । डिजिटल एजुकेसन अवार्ड पब्लिक र प्राइभेट सेक्टरमा क्रमशः सुकुना मावि मोरङ र एलआरआई कलङ्कीले प्राप्त गरेका छन् । 

यस बाहेक सातै प्रदेशका सात सर्वोत्कृष्ट स्टार्टअपलाई समेत प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मान गरेको छ । यस वर्ष कोसी प्रदेशबाट डेल्टा टेक प्रावि, मधेश प्रदेशबाट तेजस टेक प्रावि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रावि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रावि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रावि, कर्णाली प्रदेशबाट बिजनेस अनलाइन सर्भिस प्रावि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन् । 

अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथि सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकासमा सरकारले जति गर्नुपर्ने हो, त्यति काम गर्न नसकेको स्वीकार गरे । ‘आईटी दशक भनेर घोषणा गर्छौँ । तर त्यसको कार्यान्वयनका लागि बजेट छुट्याएका छैनौँ,’ उनले अगाडि भने, ‘नेपालसँग एउटा पनि आईटी पार्क छैन । पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’

त्यसै गरी कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जनतामा निराशा र कुण्ठा पैदा भइरहेको समयमा आईसीटी अवार्डले विकास र निर्माणमा सकारात्मक सन्देश दिएको बताए । 

आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियाशील यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको बताए । सूचनाको प्रविधिको विकासमा निजी क्षेत्र अग्रणी भूमिकामा जानकारी दिँदै उनले सरकारले नीतिगत सुधार गर्दै अझै सहयोगी हात बढाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?