बुटवल । होटेल पौवा र बुटवल कालिका क्याम्पस बीच अध्ययनरत विद्यार्थीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको होटेल पौवाले विद्यार्थीलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यसहित कालिका क्याम्पससँग सम्झौता गरेको हो ।
बुटवल कालिका क्याम्पस बुटवल १० रामनगरमा आयोजित एक कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख महेश पाण्डे र होटेल पौवाका चिफ अपरेटिङ अफिसर बालकृष्ण गौतमले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा बीबीएस चौथो वर्षमा अध्ययनरत करिब तीन सय विद्यार्थीको सहभागिता रहेको थियो ।
नेपाली विद्यार्थीहरूमा बिदेसिने लहर बढेपछि नेपालमा नै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको होटेल पौवाका ब्रान्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनले भने, ‘प्राथमिकताका साथ क्याम्पसका विद्यार्थीहरूलाई होटेल पौवाले सिकाउने, रोजगारी दिने र नेपालमै काम गर्न पर्छ र नेपालमा नै रोजगारी सिर्जना गर्ने गरी हस्ताक्षर भएको छ ।’
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तीव्रता दिँदै आएको होटेल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरका १५ स्थानबाट होटेल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा सङ्घीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा रहेका छन् । यसै गरी, बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा पनि शाखा बिस्तार गरी शीघ्र सञ्चालनको तयारीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया