जीतपुरसिमरा उपमहानगरको १०औँ नगरसभा बदरको माग राख्दै दायर भएको रिट खारेज

लोकपथ
42
Shares

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगर सभा बदरको माग राख्दै दायर भएको रिट उच्च अदालत जनकपुरले खारेज गरिदिएको छ ।

गत असार १० गते सम्पन्न भएको उपमहानगरको १०औँ नगरसभा बदरको माग राख्दै वडाध्यक्ष हरिदेब खरेलसहित ९१ नगर सभा सदस्यले गत असार २३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास बीरगञ्जमा रिट दायर गरेका थिए ।

आइतबार भएको रिट माथिको अन्तिम सुनुवाईपछि न्यायाधिशद्वय ऋषिराम निरौला र भरत लम्सालको संयुक्त इजलाशले रिट खारेजको फैसला गरेको हो ।

नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेसहितलाई विपक्षी बनाइएको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरिएको छ ।

उच्च अदालतले १०औँ नगर सभाको विरुद्ध परेको रिट खारेज गर्दै आगामी दिनमा केही कार्य सच्याउन उपमहानगरलाई निर्देशन पनि दिएको छ । १०औँ नगर सभाको सम्बन्धमा असन्तुष्ट पक्षले आफूहरुले नगर सभाको सूचना समयमा नपाएको दाबी गरेकाले आगामी दिनमा नगर सभा सदस्यलाई सूचना दिंदा कानुनले तोकेको प्रकृया पुरा गर्न निर्देशन दिएको छ ।

अन्तिम सुनुवाई हुने दिन दुईजना बरिष्ठ अधिवक्ता सहित ७ जना अधिवक्ताले बहस गरेका थिए । विहान ११ः३० देखि झण्डै पाँचघण्टा सम्म चलेको बहसमा उपमहानगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाँई, अधिवक्ता रामचन्द्र सिंह, अधिवक्ता विद्या कटुवाल र पुजा सिंहले बहस गरेका थिए भने विपक्षीका तर्फबाट बरिष्ठ अधिवक्ता दामोदर पौडेल, अधिवक्ताद्वय शिव कोइराला र प्रमोद साहले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?