राप्रपामा कडा नियम : सदस्यले सामाजिक सञ्जालमा लेख्दा अध्यक्षलाई सोध्नुपर्ने

लोकपथ
1.9k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ ल्याएको छ ।

राप्रपाका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा संप्रेषण गर्न समेत केन्द्रको अनुमति लिनुपर्ने व्यवस्था समेटिएको कार्यविधि राप्रपाले ल्याएको हो ।

पार्टीका सदस्य सदस्यहरुमा लागु हुने गरी ल्याइएको कार्यविधि अनुसार सदस्यहरुले पार्टीको प्लेटफर्ममा पार्टी हित हुने गरी कुनै प्रतिक्रिया, सामग्री वा प्रशारण गर्न सक्नेछन् तर पार्टीको हित विपरितका कुनै पनि सामग्री सदस्यहरुले राख्न पाउनेछैनन् ।

त्यसो त सदस्यहरुले संवेदनशील सूचना, निर्णय वा सामग्री अध्यक्षको अनुमति लिएर मात्रै प्रेषण गर्न पाउनेछन् ।

‘सदस्यले पार्टीको संवेदनशील सूचना, निर्णय वा सामग्री अध्यक्षको अनुमति लिएर मात्र प्रशारण, प्रेषण वा सार्वजनिक गर्न सक्नेछ,’ कार्यविधिमा लेखिएको छ ।

त्यस्तै सदस्यहरुले अर्को कुनै सदस्य वा समाजको जुनसुकै व्यक्तिका बारेमा धारणा राख्दा सम्मानजनक शब्द, आचरण र व्यवहार प्रदर्शन गर्ने उल्लेख गरिएको छ । साथै नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो सम्प्रेषण गर्न नहुने, अर्को सदस्यलाई होच्याउने, बदनाम गर्ने, चरित्र हत्या गर्ने, चरित्रमा आँच पुर्याउने वा व्यक्तिगत प्रतिष्ठामा हानी हुने गरी सार्वजनिक रुपमा आलोचना हुने फोटो वा भिडियो आफ्नो सामाजिक सञ्जालमा संप्रेषण गर्न पाउने छैनन् ।

त्यस्तै सदस्यले असल मनसायका साथ सामग्री भए पनि त्यसले पार्टीको वृहत् हितलाई असर पुग्ने देखिएमा त्यस्तो सामग्री हटाउनु समेत निर्देश गरिएको छ ।

‘प्रेषित सामग्री हटाउने : सदस्यले असल मनसायसाथ सम्प्रेषण गरेको सामग्री भए पनि त्यसले पार्टीको वृहत् हितलाई असर पुग्ने देखिएमा तत्काल त्यस्तो सामग्री हटाउनुपर्नेछ र त्यसको जानकारी इकाईलाई तत्काल दिनुपर्छ,’ कार्यविधिमा भनिएको छ ।

पछिल्लो समय राप्रपाका कतिपय निर्णयलाई लिएर विरोध हुन थालेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो गृहकार्य गरेपछि उक्त कार्यविधि ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?