काठमाडौं । पर्यटकीय नगरी पोखरामा आजबाट वीवाईडी इन्टरनेशनल बेलुन महोत्सव सुरु भएको छ ।
नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो ।
पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक यो महोत्सव आयोजना गरिएको हो ।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरू पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्ने बताइएको छ ।
यस महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको जनाइएको छ ।
महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया