एमालेको निर्णय : भीम रावल पार्टीबाट निष्काशन, पाण्डे र तिमल्सिना निलम्बन

लोकपथ
595
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई साधारण सदस्यबाट समेत निष्काशन गरेको छ ।

आज बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाट निष्काशन गर्दै अन्य २ नेताहरुलाई ६ महिनासम्मका लागि निलम्बन गरेको छ ।

जसमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेना रहेकी छिन् ।

पार्टीको हित विपरित काम गरेको भन्दैै रावललाई निष्काशन तथा पाण्डे र तिम्सेनालाई ६ महिनाको लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

रावल, पाण्डे र तिमल्सिनाले एमालेले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दिएका जग्गाका विषयमा विरोध गरेका थिए ।

तीनै जनासँग स्पष्टीकरण माग गरिएकोमा पाण्डे र तिम्सेनाले स्पष्टीकरण बुझाउँदा रावलले भने स्पष्टीकरण बुझाएका थिएनन् ।

आजको बैठकपछि निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले रावल महाधिवेशन हारिसकेपछि सल्लाहकारको जिम्मेवारी दिएको तर त्यसको राम्रोसँग जिम्मेवारी पूरा नगरेको आरोप लगाएका छन् ।

‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो’ ज्ञवालीले भने, ‘त्यो सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन । र, अभिव्यक्तिहरू चाहिं पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?