काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
‘आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ,’ उनले भनिन्, ‘शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।’
मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन् । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ ।
पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । उनले भनिन् ‘मंगलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ । घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ ।’
महाशाखाको रेकर्डमा आज काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्रिसेल्सियस र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहनेछ ।
गत मङ्सिर २९ गते न्यूनतम तापक्रम घटेर २ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो ।
आज आकाश खुलेकाले बिहीबार र शुक्रबार न्यूनतम तापक्रम घट्ने मौसमविद् मानन्धरले जानकारी दिइन् । मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ । घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ ।
मौसमविद्को भनाइमा अङ्ग्रेजी जनवरी महिना सबैभन्दा चिसो महिना मानिन्छ ।
माघको दोस्रो र तेस्रो सातापछि दिन विस्तारै लम्बिने र तापक्रम पनि थोरै बढ्दै जान्छ । पुसे झरीले अझै जाडो बढ्ने जनाइन्छ । राति छिटफुट वर्षा भएर बिहान सामान्य बदली रहे पनि मध्याह्नतिर काठमाडौंको आकाशमा पारिलो घाम लागेकाले दिउँसो केही न्यानो महसुस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया