काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरे लगत्तै बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले बिहीवारबाट यो बैंकको कारोबार रोक्का गरेको जानकारी दिएको हो ।
बुधवार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको डीडीए सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको बुधवार बसेको बैठकले नेपालगञ्जको बाँकेमा रहेको राष्ट्र बैंकबाट ‘ख’ वर्गको उक्त बैंकलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ‘ख’ बमोजिम ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको थियो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन समेत राष्ट्र बैंकले नियन्त्रणमा लिएको जनाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया