काठमाडौं । शेयर बजारमा सुधार हुने क्रमले दुई दिनदेखि निरन्तरता पाएको छ । बिहीवार शेयर बजार परिसूचक नेप्से ४.१९ विन्दुले बढेर २६३०.७१ अंकमा पुगेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि २.३० अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७३ अंक बढेको छ।
बजार बढ्दा कारोबार रकम पनि बढेको छ । यस दिन पाँच अर्ब ३२ करोड ९२ लाखको शेयर कारोबार गरेको छ । बिहीवार दुई वटा कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् ।
चार वटा समूहको सूचक बढ्दा विकास बैंक, फाइनान्सलगायतका समूहमा भने बढी गिरावट आएको छ ।
यस दिन ३१० कम्पनीको दुई करोड नौ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा ५० करोड ७७ लाखभन्दा बढीसहित प्रभु बैंक अग्रस्थानमा आएको छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र सपोर्ट माइक्रो फाइनान्स परेका छन् ।
बिहीबार वाणिज्य बैंक समूहले सबैभन्दा बढी कारोबार गर्दा विकास बैंक र फाइनान्स समूहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि कमजोर अवस्थाका कम्पनीहरूको शेयर मूल्य घटेको छ । यसैको असर विकास बैंक र फाइनान्स समूहमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया