पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान

लोकपथ
84
Shares

 काठमाडौं । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अन्तर्राष्ट्रिय उडान भर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई पोखरा विमानस्थलबाट नियमित उडान गर्न आह्वान गरेका छन् । बिहीबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पोखरा विमानस्थल उडानका लागि प्राविधिक रुपमा योग्य रहेको उल्लेख गर्दै यस्तो आह्वान गरेका हुन् । 

चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु-पोखरामा आज चार्टर उडान गरेको थियो । बिहाबार बिहान वायुसेवाले छेन्दुबाट १२९ जना यात्रु लिएर पोखरामा अवतरण गरेको हो । साथै विमान बिहान साढे ११ बजे काठमाडौं हुँदै छेन्दु फर्किएको छ । वायुसेवाले छेन्दु-पोखरा-काठमाडौं नियमित उडान गर्ने बताइएको छ । उनले विमानस्थल प्राविधिक रुपमा ठिक र हवाई उडानका लागि योग्य प्रमाणित भइसकेको बताए । चीनको सिचुआन एयरलाइन्सको विमानले सफल अवतरण गरेसँगै विमानस्थल हरेक हिसाबले उडानका लागि योग्य प्रमाणित भएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भएको बताए । उनले अब पोखरा विमानस्थलबाट उडान सुरु गरेर अर्को व्यापारको थालनी गर्न जरुरी रहेको बताए । उनले दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको विमानस्थल सञ्चालन गर्ने सवालमा कमीकमजोरीहरु भएको स्वीकार गरे । उनले विमानस्थलको बारेमा अनेकन भ्रम र टिकाटिप्पणीहरुलाई चिर्न आवश्यक रहकोमा अन्तर्राष्ट्रिय उडान सफल भएसँगै सबै विवादहरु स्वतः खारेज भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?