काठमाडौं । एमालेबाट निष्कासित डा. भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् । रावलनिकट अछाम निवासी एकिन्द्र कुँवरका अनुसार, रावलले नयाँ पार्टी खोल्ने गरी छलफल थालेका छन् र केही दिनमै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।
‘भीम रावल चलनचल्तीका कुनै पनि पार्टी प्रवेश गर्नुहुन्न, उहाँ आफ्नो विचार, सिद्धान्त बोकेर अघि बढ्नुहुन्छ,’ कुँवरले भने, ‘एक–दुई दिनभित्रै पत्रकार सम्मेलनमार्फत धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्नुहुन्छ । उहाँ त्यसैको तयारीमा हुनुहुन्छ ।’ पूर्व पार्टी उपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो ।
दसौँ महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निष्कासन गरेको थियो । एमालेको यो निर्णयपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चलेको थियो । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोचमा उहाँ हुनुहुन्छ,’ उनीनिकट अर्का व्यक्तिले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया