सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित

लोकपथ
84
Shares

काठमाडौं । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ । समिति बैठकमा बोल्दै अर्थसमिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विज्ञ,अर्थ मन्त्रालय र कानुन मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबारसमेत गरी लामो छलफल पश्चात् समितिले विधेयकलाई पास गरेको बताए ।

उनले सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताए । उनले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताए । उनले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुई वटा विधेयक समितिबाट पास गरेको बताए ।

समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल सम्पत्ति भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटि भए पनि भन्ने शब्दहरूको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भए पनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?