काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको सीप, अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गरी ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
आयोग तीनै तहका सरकार तथा सरोकार भएका सबै निकायलाई ज्येष्ठ नागरिकको सीप, अनुभव र भोगाई लाई पुस्तान्तरण गरी ज्येष्ठ नागरिकको सम्मान गर्न आग्रह गरेको हो ।
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार, ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ यो दिवस मनाइरहेको सन्दर्भमा आयोगले तीनै तहका सरकारलाई तथा सरोकार भएका सबैलाई ज्येष्ठ नागरिकको सम्मान आग्रह गरेको हो ।
प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो जनसङ्ख्याप्रति संवेदनशील हुँदै, तीन तहका सरकारले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने जरुरी छ ।’
ज्येष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्थाका सम्बन्धमा आयोगले गरेको अध्ययनको क्रममा ग्रामीण तहका ज्येष्ठ नागरिक आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उनीहरूले राज्यले प्रदान गर्ने सेवा सुविधाको अनुभूति गर्न नपाएको देखिएको छ । सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न कठिनाइ हुनुका साथै राज्यबाट प्रदान गरिएका स्वास्थ्य एवं यातायात सेवामा प्राथमिकतालगायत सुविधा पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।
हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार तीन सय १८ छ । जनगणना २०५८ देखि जनगणना २०६८ सम्म आइपुग्दा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर तीन प्रतिशत रहेकामा २०७८ सम्माइपुग्दा वृद्धिदर तीन दशमलव पाँच प्रतिशत पुगेको छ ।
जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेकामा ज्येष्ठ नागरिकको वृद्धिदर तीन दशमलव पाँच प्रतिशत हुनुले अन्यको तुलनामा ज्येष्ठ नागरिकको वृद्धि प्रतिशत बढी देखिन्छ ।
उल्लिखित तथ्याङ्कलाई विश्लेषण गर्दा भविष्यमा समाजमा ज्येष्ठ नागरिकको सङ्ख्या प्रतिशत अझ बढ्ने आँकलन गर्न सकिन्छ । औसत आयु वृद्धि, मृत्यूदरमाकमी, स्वास्थ्यप्रति सचेतनाका कारण ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि हुँदै गएको देखिएको छ ।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सम्बन्धमा संविधान, नीति, ऐन, नियमावलीका साथै तीनै तहका सरकारले विभिन्न योजना तथा कार्यक्रममा उल्लेख गरेता पनि अपेक्षित नतिजा हासिल हुन सकेको देखिँदैन ।
आयोगले ज्येष्ठ नागरिकको अधिकार संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । नेपालले ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यले विसं २०७८ साल पुस ११ गतेदेखि नेपाल सरकारले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया