काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताएका छन् । बिहीबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।
कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या,कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको उनको भनाई छ । उनले अहिले पनि कम्युनिष्टहरु फुट,गुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चस्व कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए । उनले त्यसको लागि विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बेला आएको उल्लेख गरे । उनले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गरे । उनले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया