काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।
उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।
९२ वर्षीय सिंहको भारतीय समय अनुसार ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
उनी आज साँझ एकाएक बेहोेस भएपछि अस्पताल पुर्याइएको थियो । उनी लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याबाट प्रताडित रहेका थिए ।
उनको जन्म सन् १९३२ साल सेप्टेम्बर २६ मा पञ्जावको एक गाउँमा भएको थियो । साधारण परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र एवं राजनीतिका क्षेत्रमा असाधारण उपलब्धी हासिल गरे ।
सन् १९९१ मा अर्थमन्त्री बनेका उनले भारतलाई आर्थिक रुपमा सफल बनाउन महत्वपूर्ण योगदान दिएका नेता हुन् । सन् २००४ देखि २०१४ सम्म गरी २ पटक सिंह भारतको प्रधानमन्त्री बनेका थिए ।
सिंहको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भारतको विकासका लागि सिंहको योगदानलाई स्मरण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया