भोलि त्रिविको ५०औँ दीक्षान्त समारोह, १४ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने

लोकपथ
49
Shares

 काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ५०औँ दीक्षान्त समारोह मनाउन लागेको छ । भोलि शनिबार हुने दीक्षान्त समारोहमा १४ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने लागेको हो ।समारोहमा विभिन्न विधाका २२ जनाले स्वर्णपदक र पुरस्कार पाउँदैछन्। त्यसमध्ये ४ जनामात्र छात्र रहेका छन् भने बाँकी १८ जना छात्रा रहेका छन् ।

दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरूमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन शंकायका एमफील तहका हिरा श्रेष्ठले पाउने भएका छन् । त्यस्तै श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाउने भएकी छिन् । अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाउने भएका छन् । मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाउने भएकी छिन् । 

सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने भएकी छिन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाउने भएकी छिन् । बल्खुले सार्वजनिक गरेको सूचनामा डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि घिमिरेले नै पाउने भएकी छिन् । शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले पाउने भएका छन् ।

 डा.दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले पाउने भएका छन् । इमिरेट्स प्रा.डा.रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले पाउने भएकी छिन् । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाउने भएकी छिन् । 

तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाउने भएकी छिन् ।  खगेन्द्रमान सिं प्रधान पदक एमए अर्थशास्त्र विषयमा पनि उनले नै पाउने परीक्षा नियन्त्रण कार्यालयको सूचनामा उल्लेख छ । चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि श्रीज्याले नै पाउने भएकी छिन् । तीन पदक पाउने भएकी उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी हुन् ।

सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले पाउने भएकी छिन् । भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । सत्य माँ स्मृति स्वर्ण पदक बीबीएका आकृति झाले नै पाउने भएका छन्। लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले पाउने भएका छन् । 

शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका स्नातक तह बीई सिभिलका शाशिष थापाले पाउने भएका छन् ।  छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले पाएकी छिन् ।  सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट सङ्गीता प्रजापतिले पाउने भएकी छिन् । यो वर्ष दीक्षित गर्न त्रिविले ७३ हजार विद्यार्थीको ग्रेसलिस्ट पास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?