डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री

सशस्त्र प्रहरीको पेट्रोल पम्पमा चरम बेथिति

लोकपथ
3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सशस्त्र मुख्यालय हातामै सञ्चालित पेट्रोल पम्पमा पछिल्ला दिनमा चरम बेथिति देखिएको छ । सो पम्पको तेल भर्न पनि उपभोक्ताले सोच्नै पर्ने अवस्था आएको छ ।

पम्पबाट कम परिमाणमा पेट्रोल बेचेको, तेलको साटो हावा भर्ने गरेको भन्दै सशस्त्र मुख्यालयमा उजुरीसमेत परेको छ ।

उजुरीउपर सशस्त्र मुख्यालयबाट कारबाही नभए हेलो सरकार र गृह मन्त्रालयमा उजुरी गर्ने जनाउसमेत पीडित उपभोक्ताहरूले दिएका छन् ।

सुरक्षा निकायकै पम्पबाट यसरी कम परिणामको पेट्रोल वितरण हुन थालेपछि सर्वसाधारणले कसलाई विश्वास गर्ने भन्ने प्रश्नसमेत उठेको छ ।

सशस्त्रको पम्पबाट पेट्रोल र डिजेल दुवै कम परिमाणमा बिक्री भएको भन्दै उपभोक्ताहरूले गुनासो गरिरहेको बेला सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुमार न्यौपानेलाई समेत कम परिमाण तेल दिएको विषयले अहिले प्रधान कार्यालय नै तरङ्गित बनेको छ । यति मात्रै नभई चरम असावधानीका कारण डिजेल मिसिएको पेट्रोलसमेत जानाजानी बेच्ने कार्यले सशस्त्रको पेट्रोल पम्प कतिसम्म गैरजिम्मेवार छ भन्ने पुष्टि हुन्छ ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरिरहेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रधान कार्यालय हातामै रहेको पेट्रोल पम्पमा कार्यरत सशस्त्रकै सुरक्षाकर्मीले कतिसम्म महत्व दिँदा रहेछन् भन्ने उदाहरण खोज्न टाढा जानु नपर्ने बनाइदिएका छन् ।

सशस्त्र प्रहरीको सो पेट्रोल पम्पमा हालै भएका दुई वटा घटना हेरौँ । केही दिनअघि मात्रै केन्द्रीय प्रवक्ता डीआईजी न्यौपानेका चालक सशस्त्र प्रहरी जवान अस्मित चौलागाईं गाडी लिएर पेट्रोल लिन गए । गाडीमा पाँच पाँच लिटरका सेतो रङका केही ग्यालिङ थिए ।

खासमा डीआईजी न्यौपानेले घरमा रहेका दुई पाङ्ग्रे सवारी साधनका लागि चालक चौलागाईंलाई कुपनसहित पेट्रोल लिन पठाएका थिए । तर त्यसबेला पेट्रोल पम्पमा कार्यरत सहायक हबलदार हरि अपगाईंले उनलाई कुपनमा तोकिएबमोजिम पेट्रोल दिएनन् । उनले अपगाईंसँग पेट्रोल कम दिएको भन्दै प्रतिवाद पनि गरे । तर अपगाईंले दिँदै दिएनन् ।

सेतो रङको पाँच लिटरको ग्यालिङमा कम पेट्रोल भएको प्रस्ट देखिन्थ्यो । यो कुरा चालक चौलागाईंंले प्रवक्ता न्यौपानेलाई सुनाए ।

त्यसपछि भने अपगाईंसहित केहीलाई जिम्मेवारीबाट हटाइयो । यो घटनाबाट प्रस्ट हुन्छ– सशस्त्र प्रहरीको पेट्रोल पम्पबाट उपभोक्ता कसरी ठगिरहनु परिरहेको छ भनेर । यो घटनाले देखाएको अर्को पाटो हो– ग्यालिङमा भएकाले कम परिमाण प्रस्ट देखियो ।

गाडीमा राखिएको भए ठगीको वास्तविकता आउन केही समय लाग्थ्यो । यो घटनाभन्दा तीन चार दिनअघि सो पेट्रोल पम्पले गरेको बदमासी त भनि साधे छैन ।

डिजेल/पेट्रोल बिक्री गर्ने ठाउँको पछाडिपट्टि २०/२० हजार लिटरको दुई ओटा ट्याङ्की छ । एउटा पेट्रोलको र अर्को डिजेलको । नेपाल आयल निगमको ट्याङ्करले बोकेर ल्याएको ८ हजार लिटर डिजेल त्यहाँ कार्यरत कर्मचारीको गैरजिम्मेवार व्यवहारका कारण पेट्रोलको ट्याङ्कीमा खन्याइयो । जब यो कुरा थाहा भयो– पम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मोहन देवकोटा, एकाउन्ट हेर्ने टेकराज लम्सालसहित सबै जना ढाकछोप गर्न लागे ।

उनीहरूले डिजेल मिसिएको पेट्रोल नै बिक्री गर्न थाले । दुई तीन दिनसम्म त यसको भेउ कसैले थाहा नै पाएनन् । जब सो पम्पबाट पेट्रोल हालेका गाडी र मोटरसाइकलमा समस्या आउन थाल्यो, उनीहरू पम्पमा गुनासो गर्न आइपुगे । त्यसपछि मात्रै डिजेल मिश्रित पेट्रोल बेचिएको तथ्य बाहिरिएको हो । यो घटनापछि तत्कालीन पम्प प्रमुख सशस्त्र प्रहरी निरीक्षक देवकोटालाई हटाएर सशस्त्र प्रहरी निरीक्षक वैकुण्ठ घिमिरेलाई पम्पको जिम्मेवारी दिइएको छ । सामान्यतया एक वर्षको समयावधि हुने गरे पनि यो घटनापछि पम्प प्रमुख देवकोटा पाँच महिनामै हटाइएका छन् ।

यस्तै एकाउन्टको जिम्मेवारी टेकराज लम्सालबाट खोसेर सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण देवकोटालाई दिइएको छ । यस्तै, ६ महिनाअघि मात्रै पम्पमा कार्यरत सशस्त्रका कर्मचारीको गैरजिम्मेवार व्यवहारका कारण ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ओभर फ्लो भएर सयौँ लिटर पेट्रोल पोखिएको थियो ।

त्यसबेला पनि असई ढालबहादुर घिसिङसहित ६ जनालाई जिम्मेवारीबाट मुक्त गरिएको थियो । त्यसबेला बाहिर पोखिएको पेट्रोलको रकम भने उनीहरूबाटै असुल उपर गरिएको थियो । उनीहरूबाट प्रतिव्यक्ति २२ हजार पाँच सय रुपैयाँसम्म त्यसबेला असुलिएको थियो । सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा गुनासो आएको यो नै पहिलो भने होइन । गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि पेट्रोल पम्पहरूको अनुगमन गरिएको थियो ।

त्यसमा र्‍यापिड रेस्पोन्स टिमको टोलीले मूल्यभन्दा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि सशस्त्र प्रहरीको पम्प पनि सिलबन्दी गरेको थियो । त्यतिबेला आयल निगमले सो पम्पलाई जरिवानासमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?