काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्मसमेत पालना नगरेको भन्दै कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको हो ।
यसरी कालोसूचीमा थपिएको ती अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकम रहेको काउन्सिलले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
दियोपोष्टले हुँदै नभएको विषय लेखी व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिङ गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला ४ महिना यता ८ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकूल काम गर्न निर्देशन दिएको थियो ।
त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारबाही गर्ने निर्णय भएको थियो । त्यस्तै, कालोसूचीमा राखिएको हेर्दाहेर्दै डटकमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो ।
दसैँयता मात्र काउन्सिलले यी दुईसहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएको ठहर गर्दै कालोसूचीमा राखेको छ । आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि तीमध्ये एक सञ्चारमाध्यमको कारबाही फुकुवासमेत भएको काउन्सिल स्रोतले जानकारी दिएको छ ।
आचारसंहिताको पूर्ण पालना गराइ स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजिर समेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाइ काम गर्दै आएको छ ।
केही अनलाइन र युट्युब च्यानलले गरेका गलत काम र बेथिति रोक्न अभिमुखीकरण गराउनेदेखि आचारसंहिताको प्रावधानअनुसार कारबाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजिरमा टेक्दै काउन्सिलले कार्यविधि बनाइ पछिल्लो समय सक्रियता देखाइरहेको छ ।
प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको छ ।
पत्रकारिताको मूल्य र मान्यता विपरीत, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्तिमार्फत पटक पटक आग्रह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया