काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले यस्तो आरोप लगाएका हुन् । उनले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरू आइरहेको बताए । उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताए ।
उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए । उनले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनै पनि नेतृत्वले समाजवादको कुराहरू नगरेको बताए । उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गरे ।
उनले भने, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यी कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । हो के त्यो समाजवाद भनेको । संविधानमा अरू कुनै शब्द राख्न नपाएर राखेको मात्रै हो की ? त्यसको कुनै अर्थ पनि छ । यो देशका नायकहरू किन बोल्दैनन् त्यसको बारेमा । संविधानमा त छ त । बोल्ने शाहस किन छैन ? बोल्ने शाहस किन छैन ? बिना बित्थामा राखिएछ की भन्ने पर्यो की ? अहिले संशोधनको कुरा हुँदैछ । हटाइदिने हो की त्यो संशोधन गरेर । यी सन्दर्भमा पनि देशको नेतृत्वमाथि मेरो कटाक्ष छ । नेतृत्व जनमुखी भएर चल्न सकेन । नेतृत्व संविधानमुखी भएर पनि चल्न सकेन । यसकारणले गर्दा समस्याहरू छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया