जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्टस्का विजयी खेलाडीलाई आज बधाई दिँदै खेल र खेलाडीहरूको विकास तथा प्रगतिका लागि सरकार सहयोग रहने बताएका छन् ।
प्रथम नेपाल प्रिमियम लिग (एनपीएल) मा विजयी जनकपुर बोल्ट्सका खेलाडीको सम्मानमा आज जनकपुरधाममा निकालिएको शोभा यात्राका क्रममा मुख्यमन्त्री सिंहले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
क्रिकेट खेलप्रति आकर्षण बढाउन तथा खेलको दिगो विकासका लागि वातावरण तयार गर्न ट्रफीसहितको खेलाडीलाई सवारी साधनमा पुष्पमाला, अबिर तथा रातो टीका लगाएर सम्मानका साथ जनकपुरधामको नगर परिक्रमा गराइएको छ ।
जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट सुरु भएको शोभा यात्रा जीरो माइल, चानु चोक, पिडारी चोक, रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुजाआजा गरी समापन भएको थियोे ।
जिल्ला क्रिकेट संघ धनुषाद्वारा आयोजित सो शोभायात्रामा विभिन्न क्षेत्रका सामाजिक, व्यापारिक, धार्मिक तथा खेलसँग सम्बन्धित खेलाडी र आमजनताको सहभागिता थियोे ।
एनपीएलको फाइनलमा सुदूरपश्चिमलाई जनकपुर बोल्ट्सले पाँच विकेटले पराजित गरेको थियो । जनकपुर बोल्ट्सका खेलाडीसहितको ट्रफीलाई मधेस प्रदेशको विभिन्न जिल्लामा शोभायात्रा गराइनेछ ।
पुस १३ गते शनिबार जलेश्वर, सर्लाही तथा रौतटह जिल्लामा घुमाइने भएको छ । यसैगरी पुस १४ गते आइतबार बारा तथा पर्सा जिल्ला र १५ गते सोमबार सिरहा तथा सप्तरी जिल्लामा ट्रफीसहित घुमाइने भएको जनकपुर बोल्ट्स टिमले जानकारी दिएको छ ।
जनकपुर बोल्ट्सले प्रथम एनपीएल ट्रफी हात परेपछि मधेस प्रदेशका जिल्लाहरूमा खुसीको विशेष लहर देखिएकाले ट्रफीसहित खेलाडीलाई सम्मान गरिएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया