कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास

लोकपथ
112
Shares

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ । शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गरकी हुन् । 

चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ । शिलान्यास कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय तहहरुबीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिस्पर्धा हुनसकेमात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताए । चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरु अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ छ । 

यसले नेपाल आउने पर्यटकको बसाई कम्तीमा ७ दिन लम्बिने विश्वास लिएको बताए । अध्यक्ष ढकालले जाल्पादेवी केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले जालपादेवी केबलकार समग्र देशको पर्यटन प्रवर्द्धन र आर्थिक विकास तथा समृद्धिमा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले अहिले मुलुकमा पर्यटन पूर्वाधारको कमी रहेको बताए । 

उनले नेपाल आउने विदेशी पर्यटकहरुको औसत खर्च तथा बसाई निकै कम रहेको र प्रतिदिन झन् घट्दो क्रममा रहेको बताए ।उनले विदेशी पर्यटकहरू औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको भन्दै पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरू निर्माण गर्न जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?