काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै राजनीतिक रुपमा कटाक्ष गर्दै एउटा कविता लेखे ।
नेकपा विभाजन, एमाले विभाजन र विभिन्न कित्तामा रहेका कम्युनिष्ट पार्टीको एकता–विभाजन र ती घटनाक्रममा साक्षी नेताहरुमा लक्षित गर्दै एमाले उपमहासचिव समेत रहेका रिमालले लक्षित गरेका छन् ।
‘अरे यार!
ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा–भाँडा’हरू
बज्न नदेउ न !’ उनले लेखेका छन् ।
उनको उक्त कविताका आशय र कटाक्ष एमालेका पूर्व नेता समेत रहेका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल लक्षित देखिन्छ । भुसालले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै केही दिन अघि एमालेबाट निकालिएका भीम रावलबारे प्रतिक्रिया जनाउँदै रावलले चाकरी नजानेका कारण उनलाई निकालिएको टिप्पणी गरेका थिए । पार्टीको कोपभाजनमा परेर आफैँ एमाले छाड्दै एकीकृत समाजावदीमा प्रवेश गरेका भुसालले आफूले पनि एमालेमा प्रश्न निषेध रहेको बताए ।
‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो। नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ,’ भुसालले भनेका थिए, ‘त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो, कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन्। एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’
त्यस्तै भुसालले रावल सम्भावना भएको मान्छे हुँदा हुँदै पनि राम्रो पार्टी नभएका कारण दुःख पाएको कटाक्ष गर्दै आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।
‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म (भीम रावललाई) हाम्रो पार्टीमा आउन आह्वान गर्दछु,’ उनले भनेका छन् ।
एमालेमा नै रहँदा भुसाल र रावल त्यस्ता नेता हुन् कतिपय अवस्थामा अन्य नेताहरुले पार्टीको निर्णय स्वीकार गर्दा उनीहरु भने त्यसको विरुद्धमा हुने गर्दथे । त्यसै कुरामा कटाक्ष गर्दै रिमालले आफूहरु ०३९ सालदेखि पार्टी निर्माणमा लाग्दा दुई नेताहरु भने विवाद र मौकाको खोजीमा मात्रै लागिरहेको कटाक्ष गरेको आरोप लगाए । नेकपा विभाजन हुँदा आफूहरु एकताको पक्षमा लागे पनि भुसाल र रावल लगायतका नेताहरु भने पार्टी विभाजन गरेर अर्कै कित्तामा जान समूह बनाएको आरोप लगाए ।
‘उनी पो निसासिए रे !
उननचालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं,
पार्टी भित्र सँधै उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसीरहे।
प्रत्येक चुनौति चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौं,
उनले बिभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे– अन्तै दौडिए ।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
त्यस्तै उनले अन्य पार्टीमा रहेर पनि एमाले अध्यक्ष केपी शर्मा ओलीेले नेतृत्व छाड्नुपर्ने बताएकोप्रति कटाक्ष गरे । त्यस्तै एमालेबाट पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा गएका नेता भुसाललाई अरुको पार्टीमा कुनै वास्ता नगर्न समेत आग्रह गरे ।
यस्तो छ रिमालको कविता :
उनी पो निसासिए रे !
उननचालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं,
पार्टी भित्र सँधै उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसीरहे।
प्रत्येक चुनौति चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौं,
उनले बिभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
‘जोरीपारी’हरु–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।
मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौति सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सहि—
असहमत ‘अरुहरु’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैं
उल्टै हाकिम पल्टिए ।
अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ कि?!
कतै औंला घुसार्न पो मिल्छ कि?!
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकस भएको छ।’
अरे यार!
ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा-भाँडा’हरू
बज्न नदेउ न !
ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
अरुले उनीहरुका घरमा,
जे गरुन–बाल मतलव!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया