कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचिमा पर्न सफल

लोकपथ
77
Shares

काठमाडौं । नेपालकी कीर्तिमानी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचिमा पर्न सफल भएकी छन् । सन् २०२४ मा एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलता आरोहण गर्ने विश्वकै पहिलो तथा एक मात्र महिला बन्ने कीर्तिमान कायम गरेकी नेपाली आरोही पूर्णिमा श्रेष्ठ विश्व प्रसिद्ध समाचार संस्था सीनएनएको ‘उत्कृष्ट एथ्लेट’ को सूचिमा पर्न सफल भएकी हुन् ।

सीएनएनले पूर्णिमाले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ । सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको हो ।

सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् ।

कीर्तिमानी आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत सीएनएनको उक्त सूचीमा परेको बताउँदै आफूले गौरवान्वित महसुस गरेको उल्लेख गरेकी छिन् ।

आरोही श्रेष्ठले भनेकी छन्, ‘यो वर्ष, म एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ । यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उँचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

सीनएनएनले विश्वका चुनौतीपूर्ण तथा साहसिक प्रदर्शन गर्ने सूचीमा नेपाली आरोही आरोही श्रेष्ठबारे एउटै सीजनमा त्यो पनि १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान तोड्दै पूर्णिमा श्रेष्ठले यो वर्ष इतिहास रचेको बताएको छ ।

सीनएनको सामग्रीमा आरोही श्रेष्ठले भनेकी छन् , ‘मेरो शरीर थकित थियो । म आफैंलाई आफू मूर्ख केटी जस्तो लागिरह्यो। मैले यो महत्वाकांक्षा त्याग्ने बारेमा पनि सोचकी थिएँ । यो अभियानको लागि ठूलो खर्च तिर्नुपरेको थियो । तर मैले सपना देखेँ र सफल भएँ । मैले मेरो सपनामा जोड दिएँ । मेरो सपनामा ध्यान केन्द्रित गर्नु सबैभन्दा कठिन थियो ।’

पूर्णिमाले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग सातौं अग्लो हिमाल धौलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड पनि राखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?