काठमाडौं । सशस्त्र प्रहरीले विभागीय नीति विपरीत काम गर्ने कमान्डरमाथि धमाधम कारबाहीको डन्डा बर्साउन थालेको छ । पछिल्ला दिनमा विभिन्न गण, गुल्म र बीओपीका कमान्डरलाई प्रधान कार्यालयमा बोलाएर सशस्त्र प्रहरीले छानबिन गरिरहेको छ ।
सशस्त्र मुख्यालयले धनुषाका गणपति दर्शन गिरी, मोरङका गणपति विश्व खड्का, बाराका गणपति सन्तोषबहादुर सिंह र बाँकेका गणपति विमल डाँगीलाई मुख्यालय बोलाएको हो । गिरी, खड्का र डाँगी सशस्त्र मुख्यालय हाजिर भए पनि सिंह भने ‘आफूले विभागीय नीति विपरीत काम नगरेको, आफूमाथि बदला भावले काम गरेको’ भन्दै मुख्यालयमा हाजिर भएका छैनन् । उनी हाजिर नभएपछि सशस्त्र मुख्यालयले कानुन महाशाखाका एसएसपी युवराज अर्याल र कानुन महाशाखाकै एक जना इन्सपेक्टरलाई स्थलगत जाँचबुझका लागि बारा पठाएको छ। सिंह सशस्त्र प्रहरीमा बौद्धिक र क्षमतावान सशस्त्र प्रहरी अधिकृतमा चिनिन्छन् ।
खड्का, डाँगी र सिंहलाई विगतको तुलनामा राजश्व संकलनमा कमी आएको भन्दै सोधपुछका लागि बोलाइएको भए पनि गिरीलाई भने नेपाल भारत सीमा क्षेत्रबाट ठूलो परिमाणमा तस्करी गराएको आरोपमा तानिएको बताइएको छ । धनुषाको इनर्वा, जटही, दुहबी, मैनाथपुर चेकपोस्टबाट सशस्त्रको संलग्नतामा तस्करी गराएको आरोपमा एसपी गिरीमाथि छानबिन सुरु भएको हो । एसपी गिरीले सीमा क्षेत्रमा बदमासी गरेको थाहा पाएपछि मधेस प्रदेशका लागि प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले एक विशेष टोली परिचालन गरेका थिए । सोही टोलीले दिएको रिपोर्टको आधारमा उनलाई मुख्यालयले बोलाएको हो ।
यस्तै, सशस्त्र मुख्यालयले तीन डिएसपी, चार इन्स्पेक्टर र एक सईलाई पनि तानेर सोधपुछ गरिरहेको छ । कपिलवस्तु कृष्णनगर बीओपीमा डिएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, मटिहर्वा बाराका डीएसपी विदुर भट्टराईलाई मुख्यालय तानेर कारबाहीको प्रक्रिया सुरु गरिएको हो ।
यसै गरी, नवराजपुर बेओपी सिराहाका इन्स्पेक्टर रोशन थापा, बेओपी अमडुवा सुनसरीका प्रकाशविक्रम कार्की, मोरङ नोकाका बिओपी जयबहादुर दतेपुथे, धनुषाको बेओपी फूलगामा कार्यरत गणेश बोहोरा समसिओपी महोत्तरीका कृष्ण गुरुङलाई तानेर सीमा सुरक्षा विभागमा हाजिर गराइएको छ ।
यसै गरी सई खेम कटुवाललाई झापाको टिरिङ्गाबाट तानेर कारबाहीको तयारी थालिएको छ ।
उता, सामान्य सोधपुछको विषयलाई प्रधान कार्यालय बोलाइएको विषयलाई मिडियाबाजी गरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले आफूहरुको मानमर्दन गर्न सशस्त्र प्रहरी मुख्यालय र प्रवक्ता एवं डीआईजी कुमार न्यौपाने स्वयं लागेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
हेडक्वाटर बोलाइएका एक जना गणपति भन्छन्, ‘हामीलाई कारबाही गरिएको होइन, सोधपुछका लागि मात्रै बोलाइएको हो । के यो विषय सञ्चार माध्यममा लानु पर्ने विषय हो र ? आईजीपीको सचिवालय आफैले यो विषयलाई सञ्चार माध्यममा लग्ने काम गरेको छ । यसले हामीलाई दुःखी बनाएको छ । मानौँ, हामीमाथि कारबाही भएन र हामी फिर्ता गयौँ रे, के यो स्थितिमा हामी अब जिल्लामा गएर काम गर्न सक्छौँ ? प्रहरीका एसपी, सीडीओ र सेनाको अघि हामीले कसरी मुख देखाएर काम गर्न सक्छौँ ?’
उनले पछिल्ला दिनमा संगठन प्रमुखको देवत्वकरण गर्ने र अरुलाई खुइल्याउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै भने, ‘संगठन भनेको आईजीपीको मात्रै होइन, सबैको हो । बेलैमा चेतना भया ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया