काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि केन्द्र बैंकले निक्षेप संकलन उपकरण मार्फत बोलकबोलबाट ७० अर्ब रुपैयाँ तान्न लागेको हो ।
राष्ट्र बैंकले आजै अर्थात् आइतवार मध्यान्ह २ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
२१ दिन अवधिको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने पनि राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातबाटै राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ ।
बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी माघ ६ गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया