काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी लेखा नम्बर (प्यान) कारोबारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरेको छ । आइतबार महासंघले सातौँ साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिन काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो ।
महासंघले पौष २० गते शनिबार काठमाडौंमा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने लागेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले २०७४ सालमा स्थापना भएको महासंघले तेस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने बताए । उनले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानको लागि राज्य स्तरसम्म पुर्याउने काम महासंघले गर्दै आएको बताए । उनले महासंघको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको बताए । उनले अधिवेशनमार्फत सरकारसँग महासंघले नेपाल भारत खुला सीमामा हुने चोरी पैठारी तत्काल रोक्न माग गर्ने बताए । अध्यक्ष कार्कीले व्यवसाय दर्ता एकद्वार प्रणालीमा गर्न सरकारसँग माग गरे ।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले स्थायी लेखा नम्बर ९प्यान० कारोबारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरे । उनले प्यानमा ५० लाखसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको भन्दै त्यसलाई पुनःविचार गरी सरकारले २ करोड बनाउनु गर्नेमा जोड दिए ।
उनले शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लागि राज्यले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताए । उनले महासंघले बारम्बार भन्दै आए पनि सरकारले सुनुवाइ गर्न नसकेको गुनासो गरे । उनले खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात् पुनरावलोकन नगर्ने व्यवस्था लागू गर्नुपर्ने बताए । उनले सरकारसँग साना उद्योगी व्यवसायीहरुको पनि सहज पहुँच बनाउन माग गरे । चीनको केरुङ र खासा नाका जानका लागि व्यवसायीहरुलाई प्रवेश पासका व्यवस्था गरिनुपर्ने पनि उल्लेख गरे ।
महासंघले सामान आयात गर्दाको हालको भन्सार दरबन्दी घटाउनु पर्ने जनाएको छ । त्यस्तै आयकरमा, प्रोपराइट सीपलाई प्यान कम्पनी सरह २५ प्रतिशत नै कायम गरिनुपर्ने, घर बहाल कर ५ प्रतिशत कायम गरिनुपर्ने लगायतका मागसमेत महासंघले राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया