काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस ११ गतेसम्म कुल विनियोजित बजेटको १६ दशमलव १० प्रतिशत बजेट मात्रै खर्च भएको छ ।
आइतबार नगरसभाको १६औँ बैठकमा बोल्दै उपमेयर सुनिता डंगोलले पुस ११ गतेसम्म कुल बजेटमध्ये ४ अर्ब १ करोड ५६ लाख खर्च गरेको जानकारी दिएकी हुन् ।
चालु आर्थिक वर्षका लागि महानगरले कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।
उपमेयर डंगोलका अनुसार समग्रमा चालु खर्च २३ दशमलव ५८ र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत भएको जानकारी गराइन् । त्यस्तै हालसम्म पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासका क्षेत्रमा १२.२३ प्रतिशत खर्च भएको छ ।
उपमेयर डंगोलले दिएको जानकारी अनुसार सुशासनका क्षेत्रमा ७.९२ प्रतिशत खर्च भएको छ ।
सबैभन्दा बढी कार्यालय सञ्चालनमा खर्च भएइको जानकारी गराइएको छ । जसमा ३६ दशमलव ५४ प्रतिशत खर्च भएको हो ।
त्यस्तै राजश्व आम्दानी तर्फ कुल ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार आम्दानी भएको छ । कुल आम्दानीको लक्ष्य अनुसार ३१ दशमलव ०७ प्रतिशत लक्ष्य हासिल गरेको छ । महानगरले चालु आर्थिक वर्षका लागि कुल १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँबराबरको राजस्व आम्दानीको लक्ष्य निर्धारण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया