सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री ओली

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताएका छन्  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए । 

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरूको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ, ‘ प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नेछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरूलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले  कुनै पनि कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?