काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ ।
आइतबार साँझ अस्पताल पुगेर प्रचण्डले किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गरेका थिए । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए ।
सो क्रममा महासचिव किरणले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरेका छन् ।
भेटका क्रममा क्रममा दुवै जना भावुक पनि भएको प्रचण्डको सचिवालयले जनाएको । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया