बाघको आक्रमणबाट ७२ वर्षीया वृद्धाको गयो ज्यान

लोकपथ
70
Shares



मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ वसन्तपुरमा बाघको आक्रमणमा परी ७२ वर्षीया एक वृद्धाको ज्यान गएको छ ।

आइतबार सँंझ घाँस काँट्न बारीको छेउमा गएकी कान्छीमाया रुम्बालाई बाघले आक्रमण गरेको मनहरी गाउँपालिका–५ का वडाध्यक्ष दीपेन्द्र ढकालले बताए ।

घाँस काट्न गएकी कान्छीमाया लामो समयसम्म पनि नफर्केपछि खोज्न गएका युवाहरुले कान्छीमायाको मोबाइल र कपडा छरपस्ट भेटेपछि पछ्याउँदै जाँदा बाघले उनको शव छाडेर भागेको थियो ।

‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ,’ वडाध्यक्ष अधिकारीले भने, ‘भीडभाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ ।’

शवको टाउको तथा तिघ्राका भागको मासु बाघले लुछेको अवस्थामा रहेको उनले बताए ।

घटनास्थल मनहरी गाउँपालिका–५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ ।

पर्सा वन्यजन्तु आरक्षसँग सिमाना जोडिएको मनहरी गाउँपालिकामा वन्यजन्तुले पटक पटक दुःख दिनेगरेको छ । जंगली हात्ती, गैडा र बाघले अन्नबाली नास गर्ने, घरपालुवा जनावर खाने, घरमा भण्डारण गरिएको अन्नबाली र घर भत्काउनेलगायत मानवीय क्षतीसमेत गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?