सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती

लोकपथ
77
Shares

भोजपुर । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।

 वैकल्पिक उपायको रूपमा करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नु पर्ने स्थानीयवासीको भनाइ छ ।  अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रूपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलेवषौँबाट समस्या भोग्दै आएका छन् । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी नवीन कार्कीले बताए । 

‘अरुण नदीमा पुल नहुँदा सिङ्गो उत्तरी क्षेत्रका नागरिकलाई समस्या छ उनले भने, ‘नदीवारी षडानन्द क्षेत्रमा सडक कालोपत्रे बन्दैछ । तर विडम्बना अरुण नदीमा पुल नै छैन । यो नदीमा पुल बनिदिए हाम्रो क्षेत्रको विकासमा टेवा पुग्ने थियो ।’ बर्खा समयमा पानीको बहाव बढेपछि पूर्ण रूपमा फेरी बन्द हुने भएकाले झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?