काठमाडौं । गत पुस २ गते गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा भैरहवामा संयुक्त रूपमा आयोजित एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल पनि पुगेका थिए । गोष्ठीमा सहभागी हुन आएका बाँकेस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विमल डाँगीलाई आईजीपी अर्यालले सोधे, ‘नेपालगन्ज भन्सारबाट हुने तस्करी रोक्न किन असफल भएको ?’
आईजीपी अर्यालले उनलाई यो प्रश्न सोधेको एक सातामै गणपति डाँगी अहिले सशस्त्र मुख्यालयमा तानिएका छन् छानबिनका लागि । उनीमाथि नेपालगन्ज भन्सारबाट हुने तस्करी रोक्न असफल भएको, तस्करसँग मिलेर काम गरेको, दिइएको लक्ष्यअनुरुप राजस्व उठाउन नसकेकोलगायतका प्रश्नको घेरामा छन् उनी अहिले । सशस्त्र मुख्यालयले अहिले यही सेरोफेरोमा उनीमाथि छानबिन गरिरहेको छ ।
सशस्त्र मुख्यालय स्रोतका अनुसार, छानबिनका लागि मुख्यालय बोलाइएपछि उनले नेतृत्व सम्हालेको १० महिनाको अवधिका कर्तुतहरु एकपछि अर्काे गरी सशस्त्र मुख्यालयले पाइरहेको छ । यसले अब उनी फेरि आफ्नो जिम्मेवारी क्षेत्रमा गएर काम गर्ने सम्भावना अत्यन्तै न्यून छ ।
सशस्त्र प्रहरीमा कमान्डरलाई एक वर्ष काम गर्न दिने नीति छ । उनले गत फागुन ४ गतेदेखि सो गणको जिम्मेवारी बहन गरेका थिए ।
सिसम २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी डाँगी सुर्खेतस्थित रक्तकाली गणको गणपति हुँदा पनि रासन काण्डमा मुछिएका थिए । कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानन्त्री पूर्णबहादुर खड्काका भाइ विष्णु खड्काको जोडबलमा त्यतिबेला सुर्खेतस्थित गणको जिम्मेवारी पाउन सफल भएका डाँगी पूर्णबहादुर खड्का उपप्रधानमन्त्री भएकै बखत ३० नम्बर गणको गणपति हुन सफल भएका थिए ।
बाँकेस्थित सो गण तस्करीबाट पैसा कमाउनका लागि निकै मालदार मानिन्छ । नेपालगन्जको बालेगाउँस्थित सो गणको मातहतमा ३/३ किलोमिटरको दुरीमा सशस्त्र प्रहरीका १५ वटा बीओपी (क्याम्प) राखिएका छन् । यस्तै, सीमाक्षेत्र रुपइडियादेखि नेपालगन्जसम्म रोडमा मात्र सशस्त्र प्रहरीको ४ ठाउँमा चेकिङ छ । तर गणपति डाँगी आफ्नो स्वार्थमा केन्द्रित हुँदा राजस्व संकलनमा पनि गम्भीर असर परेको छ । उनले कमान्ड सम्हालेपछि संगठित तस्करी मौलाउँदै गएको बताइएको छ ।
सो गणमा कार्यरत एक जवानका अनुसार, ठूला तस्करलाई भन्सार छलेर सीमापारिबाट मालसामान भित्र्याउन दिने र सामान्य घरायसी प्रयोजनका लागि ल्याएको समान खोस्न लगाउने गणपति डाँगीको निर्देशन नै रहेको छ ।
ती जवानका अनुसार, तस्करको सामान छोड्न लगाउने र सामान छाडेको दिन गणपति डाँगी तस्करकै घरमा पुग्ने गरेका छन् ।
उता, सशस्त्र प्रहरीले छोडेका लाखौँका तस्करीका मालसामान दैनिकजसो बाँके प्रहरीले नेपालगन्ज बजार र सडकबाटै बरामद गर्दै आएको छ । सशस्त्र प्रहरीले ‘आँखा चिम्लिँदा’ तस्करीका मालसामान सिधै नेपालगन्ज भित्रिने गरेको र यसरी भित्रिएको सामान पहाडी, हिमाली जिल्ला लगायत काठमाडौंसम्म नै पुग्ने गरेको छ । भारतको लखनउ, बहराइच, रुपइडिहाबाट भन्सार नतिरी तस्करीको मालसामान रोडै रोड पिकअप गाडीका गाडी नेपालगन्ज भित्रन्छ ।
गम्भीर कुरा के छ भने, सशस्त्रले छाडेको लाखौँ मूल्यका मालसामान जिल्ला प्रहरी कार्यालय बाँकेले धमाधम पक्राउ गरिरहेको छ । जिप्रका बाँकेका अनुसार २०८०/०८१ मा ४ करोड ५५ लाख ४ हजार ६ सय ४३ मूल्य बराबरको तस्करीको मालसामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।
२०८१ को जेठ महिनामा मात्र १ करोड १७ लाख ३१ हजार ८ सय ९० मूल्यको तस्करीको मालसामान बाँके प्रहरीले बरामद गरेको छ । गत ३ महिनाको तथ्यांक हेर्ने हो भने पनि डरलाग्दो तस्करी देखिन्छ ।
बाँके प्रहरीले गत असोज महिनामा ३८ लाख ७८ हजार २ सयको तस्करीको सामान बरामद गरेको छ, कात्तिक महिनामा २० लाख ७५ हजार ६ सय ५० र मंसिर महिनामा ९ लाख ३३ हजार ७ सय ६० मूल्य बराबरको तस्करीको सामान पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया