बृहत् नेपाली शब्दकोश पल्टाएर हेर्दा चाकरीको अर्थ हुन्छ–‘कसैलाई खुसी पार्न गरिने काम, सेवा, सुसार ।’ यसको ताप्तर्य हो, आफ्नो स्वार्थपूर्तिका लागि विभिन्न हतकण्डा अपनाएर सम्बन्धित पक्षलाई खुसी पार्नु । ‘चाकरी’मा विवेक, नैतिकता र इमानहरू बन्धक बन्छन् । प्रतिस्पर्धा हराउँछ र योग्यताले काम गर्न छाड्छ । सत्य असत्य बन्छ, असत्य सत्य बन्छ ।
हरेक क्षेत्रमा बढिरहेको दलीयकरणले प्रतिस्पर्धा कमजोर बनायो, त्यसले ‘चाकरी’ प्रथालाई बढवा दियो र योग्यतालाई बाइपास ग¥यो । चाकरी र चाप्लुसीको उदाहरणहरू अहिले सामाजिक सञ्जालमा प्रशस्त देखिन्छ ।
गलत प्रवृत्ति र पात्रका बारेमा समेत स्वार्थ समूहका व्यक्तिहरू त्यस्ता पात्र र प्रवृत्तिका बारेमा पनि सञ्जाल नै रंगाइरहेका हुन्छन् । र, पछि त्यस्ता पात्रहरूको संरक्षणमा फेरि तीनै चाकरीदारहरू नै हाबी हुन्छन् ।
‘राइट म्यान इन द राइट प्लेस’ भन्ने कुरा हामी गरिरहेका हुन्छौँ, हाम्रो कल्पना पनि त्यही हुन्छ, कि योग्य व्यक्ति सही ठाउँमा पुगोस् । एउटा सानो उदाहरण हेरौँ, हामी असल, इमानदार र पारदर्शी नेता पनि चाहन्छौँ र फेरि उहीसँग हामी आर्थिक लाभदेखि, राज्यका हरेक क्षेत्रमा पहुँच र परिआउँदा ऊ आफ्नो लागि जुनसुकै कामका लागि पछि नपर्ने होस् भन्ने पनि चाहन्छाँै । हामी यस्तो विरोधाभासमा बाँचिरहेका हुन्छौँ कि जसले हामीलाई को असल र को खराब भन्ने विषय नै छुट्ट्याउन अप्ठेरो परिरहेको छ ।
मान्छे अन्य प्राणीभन्दा सर्वश्रेष्ठ भएकै कारणले होला उसमा अलि लालस हुन्छ । लालसाले नै मानिसलाई नयाँ नयाँ काम गर्न प्रेरित गर्दछ । मान्छे आफैँमा सहजता खोज्ने पात्र भएकाले सहजताका लागि पुग्नुपर्ने गन्तव्यका लागि चोर बाटोसमेत प्रयोग गर्न पछि पर्दैन । त्यसका लागि राज्यका माथिल्ला निकायसम्म पुग्न विभिन्न भर्याङहरू प्रयोग गर्दै आफूलाई त्यहाँसम्म पु¥याउँछ, योग्य जस्तो देखाउँछ । यो प्रवृत्तिले गलत व्यक्ति सही ठाउँमा पुग्छ र त्यसले त्यो संस्था नै ध्वस्त बनाउँछ ।
सही ठाउँमा सम्बन्धित क्षेत्रको ज्ञान भएको व्यक्ति पुगेमा संस्थाले दिने ‘डेलिभरी’ र आम बुझाइ नै फरक पारिदिन्छ । क्यानमा पारस होस् या विद्युत् प्राधिकरणमा कुलमान, उचित ठाउँमा उचित व्यक्ति पुग्नुको तरोताजा उदाहरण हो । ….
पछिल्लो नेपाल प्रिमियर लिग (एनपीएल) को उदाहरण हेरौँ । नेपाली क्रिकेटको सदाबहार क्याप्टेन मानिने पारस खड्कालाई । नेपाल क्रिकेट संघ (क्यान) मा पारसको ‘इन्ट्री’ले नै नेपाल जस्तो भौतिक संरचना नै नभएको देशले समेत एनपीएल सफलतापूर्वक सम्पन्न गर्न सक्यो । यी र यस्ता धेरै संस्थाहरूले पारसहरू खोजिरहेका छन् जसले हामी सक्दैनौँ भन्ने लघुताभास छाडेर हामी सक्छौँ भन्ने आँट गर्न सकोस् ।
बालुवाटारमा हुने भन्दा बढी राजनीति क्यान जस्ता खेलकुदका र अन्य विभिन्न संस्थामा हुने गर्दछ । तर, सही ठाउँमा सम्बन्धित क्षेत्रको ज्ञान भएको व्यक्ति पुगेमा संस्थाले दिने ‘डेलिभरी’ र आम बुझाइ नै फरक पारिदिन्छ । क्यानमा पारस होस् या विद्युत् प्राधिकरणमा कुलमान, उचित ठाउँमा उचित व्यक्ति पुग्नुको तरोताजा उदाहरण हो । नत्र ‘रुखले हामीलाई कार्बनडाइ अक्साइड दिन्छ’ भन्नेहरूले वन मन्त्रालयको जिम्मेवारी पाएजस्तै हाम्रा धेरै संस्थाहरू त्यसको कोपभाजनमा परेका छन् ।
होइन भने राष्ट्रपति बन्न होस् या मन्त्री, त्यति नभए मन्त्रीको स्वकीय बन्नमा पनि योग्यता भन्दा ‘चाकरी’ले काम गरिरहेको हुन्छ । अझ हेरौँ ‘चाकरी र चाप्लुसी’ ले नै हाम्रो संघीयताको धज्जी उडाएको छ । प्रदेशका नीति तथा योजना आयोग जस्ता स्थान समेत दलको भर्ती केन्द्र बनिरहेको छ ।
प्राज्ञिक थलो विश्वविद्यालयको पदाधिकारी बन्न होस् या हरेक क्षेत्रमा उच्च तहमा पुग्नका लागि दलीय आवरणमा आफूलाई कतै न कतैबाट समाहित गराउने प्रवृत्ति र बाध्यता देखिन्छ । सरकारी संयन्त्रहरू मृतप्रायः हाम्रो जस्तो मुलुकमा निजी क्षेत्र जसले मुलुकको हरेक क्षेत्रमा आफ्नो दर्बिलो उपस्थिति जनाइरहेको छ । राज्यले व्यवसायीमुखी नीति बनाउने र त्यसकै आधारमा व्यवसायीहरूले राज्यलाई कर तिर्दै जनतामा डेलिभरी दिनुपर्ने हो । तर तीनै व्यवसायीहरू दल वा पार्टीका लागि दानवीर बनेर दान गर्दै त्यसबाट वर्षौँ वरदान पाउन लालायित बन्नुपर्ने बाध्यता हाम्रै राज्य प्रणालीले खडा गरिदिएको एउटा ‘चाकरीको पर्खाल’ होइन र ?
हरेक क्षेत्रमा राज्यबाट सुरक्षाको प्रत्याभूति नहुने देशका लागि ‘चाकरी चाप्लुसी’ रहर कम बाध्यता धेरै जस्तो देखिन्छ । तर राजनीतिक दलभित्रकै पनि तहगत रूपमा चाकरीमा खातिरदारी नहुँदा सही व्यक्ति पनि उचित ठाउँमा पुग्न सकिरहेको हुँदैन ।
राजनीतिक दलकै कुरा गरौँ । कुनै दलको साधारण सदस्यले जिल्ला तह, जिल्ला तहले प्रदेश तह, प्रदेश तहले केन्द्र तहको नेता र केन्द्रका पनि तल्लो तहले माथिल्लो तहका नेतामाथि विभिन्न पक्षबाट सेवाभाव र रक्षात्मक बन्न सकेन भने ऊ प्रतिस्पर्धाबाट बाहिरिन्छ ।
त्यसकारण पनि हाम्रो जस्तो देश, हाम्रो जस्तो मानसिकता बोकेका राजनीतिक दल र तिनका नेताहरूमा तहगत ‘चाकरी’को प्रवृत्तिको पुनरावृत्ति भइरहन्छ, त्यसको सिलसिला चलिरहन्छ । नत्र भने राजनीतिक रूपमा उन्नत व्यवस्था गणतन्त्र अगिंकार गरिरहेको हाम्रो जस्तो मुलुकमा लोकतन्त्रको मानक प्रतिस्पर्धा छाडेर एउटै व्यक्तिलाई तीन पुस्ताले नै मतदान गरेर आफ्नो प्रतिनिधि बनाउनुपर्ने बाध्यता रहिरन्छ ?
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका समाजशास्त्री डा. दीपेश घिमिरे विभिन्न क्षेत्रमा दलीयकरणले प्रशय पाएका कारण समाजमा प्रतिस्पर्धा कम भइरहेको बताउँछन् । राज्यका विभिन्न निकायमा अयोग्य पात्रहरूले पहुँच पु¥याउँदा योग्यता भएका व्यक्तिहरूमा निराशा बढिरहेको उनको तर्क छ ।
‘हरेक मान्छेमा कहीँ न कहीँ पुग्नुपर्ने लालसा हुन्छ । त्यो लालसा सबैभन्दा बढी बुझेको र ज्ञान भएको मान्छेमा हुन्छ । अलिकति पनि ज्ञान नभएको मान्छेमा लालसा कम हुन्छ, पहुँचमा भएका व्यक्तिलाई प्रभावमा पारेर फाइदा लिने लालसा हुँदैन । त्यही लालसाले नै बुझेका व्यक्तिहरूले दलको नेता वा राजनीतिक पार्टीको नीति र व्यवहारलाई वस्तुगत रूपमा ठिक बेठिक भन्न सक्ने सामथ्र्य राख्छ, तिनै पात्र र प्रवृत्ति भएका मान्छेहरू सानो सानो पदको आशक्तिले ‘चाकरी चाप्लुसी’ का लागि लागिपरेका हुन्छ,’ उनी भन्छन् ।
दलीयकरण र चाकरीले धेरै संस्थाहरू ध्वंसीकरणको बाटोमा पुगेपछि हाम्रा नेतृत्व तहमा पुगेका नेताहरू ‘मेरिट्रोक्रेसी’ लाई भाषणको एक छेउमा पु¥याउन छुटाउँदैनन् । तर, ‘मेरिट्रोक्रेसी’ कसरी हुन्छ भन्ने कुरा त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटलाई नै हेर्दा नेताहरूको ‘मेरिटोक्रेसी’ के हो भन्ने प्रस्ट हुन्छ । हरेक निकायको नेतृत्व नै राजनीतिक दल र नेतृत्व तहको ‘इन्ट्रेस्ट’मा गएर ठोक्किने बताउँदै घिमिरे भन्छन्, ‘हाम्रो नेता र नेतृत्वले चाकरी नगरी मेरिटको आधारमा उच्च पदमा योग्य व्यक्तिलाई पु¥याउँदैनन् । हरेक निकायको नेतृत्वमा पुग्ने कुरा हाम्रा दलसँग र सीमित नेताहरूसँग गएर जोडिएको छ । हाम्रो पद्धति र प्रणाली नै यसरी निर्माण गरिरहेका छौँ कि दलको सिफारिस बिना, नेताको सिफारिस बिना त्यहाँ जानै नसक्ने भइसकेको छ । अनि नेताले जसले आफूलाई राम्रोसँग चाकरी गरेको छ, उसैलाई सिफारिस गरिदिन्छ ।’
सही ठाउँमा योग्य व्यक्ति सबैको चाहना र नेताको भाषणमा छुट्दैन । तर चाकरीका आधारमा छनोटमा परेका व्यक्तिहरूका कारण संस्थाहरू ध्वस्त भइरहेका हुन्छन् ।
‘एउटा गलत व्यक्ति राम्रो ठाउँमा पुग्यो भने त्यसले त्यो संस्था नै ध्वस्त बनाइदिन्छ । सही मान्छे सही ठाउँमा पुग्यो भने उसले त्यो संस्था नै बनाइदिन्छ । हामीले अहिलेको नेपाल प्रिमियम लिग (एनपीएल) लाई हेर्न सक्छौँ सही व्यक्ति सही ठाउँमा पुग्दा उसले केसम्म गर्न सक्छ भनेर । नेपालका यावत राम्रा संस्थाहरू छन्, त्यहाँ गलत मान्छे नेतृत्वमा पुग्दा त्यसले संस्थालाई ध्वस्त बनाइरहेको छ,’ उनले भने ।
चाकरीको अन्त्य कसरी ?
जहाँ दलीयकरणको घेराबन्दी हुन्छ त्यहाँ प्रतिस्पर्धा हराउँछ । जहाँ दलीयकरण फस्टाउँछ त्यहाँ निष्पक्षता निमिट्यान्न हुन्छ । तर यसबाट नेपाली समाज बाहिर निस्कनै नसक्ने हो त ? पक्कै होइन । त्यसका लागि कैयौँ ठाउँहरूको नेतृत्वमा जाने वस्तुगत बाटो निर्माण गरिदिनुपर्दछ । हाम्रा कानुनी रूपमा नै यसरी काम गर्न सक्नुपर्छ कि जसले बिना चाकरी बिना चाप्लुसी योग्य मान्छे नेतृत्वमा पुग्न सक्छ ।
उदाहरणका लागि नेपालको लोकसेवा आयोगलाई लिन सकिन्छ । आजको दिनमा नेपालको लोकसेवा यस्तो संस्था बनेको छ जसले पारदर्शी रूपमा काम गरिरहेको छ । कसैले प्रश्न उठाउन सकिरहेको छैन । आज तपाईँ लोकसेवा फेल हुनुभयो र तपाईँको कुनै साथी पास भयो भने लोकसेवा दिने त्यो मान्छेले मेरो तयारी पुगेन भनेर आफ्नो तयारी बढाउनतिर लाग्छ । त्यो भनेको संस्थामाथिको विश्वास हो नि त ! हो हाम्रा संस्थालाई लोकसेवा जस्तै बनाउने हो भने हामीले सही मान्छेलाई सही ठाउँमा पुर्याउन सक्छौँ ।
डा. घिमिरे यसमा तर्क गर्छन्, ‘लोकसेवाले योग्य व्यक्ति छनोट गर्छ तर प्रशासनले राम्रो डेलिभरी दिन सकिरहेको छैन त ? भनेर कतिपय स्थानमा प्रश्न उठिरहेको पनि हुन्छ । तर लोकसेवाले छान्ने मात्रै हो, उसले राम्रो व्यक्ति छानेर पठाउँछ तर ती व्यक्ति राज्य संयन्त्रका यस्ता ठाउँमा पुग्छन्, जहाँ उनीहरू चाहेर पनि अछुत रहन सक्दैनन् । आफू सत्य भएर पनि असत्य देखिने गरी हामीले संस्थाहरू खडा गरिरहेका हुन्छौँ ।’
सरकार परिवर्तन हुने बेलामा कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पायो भनेर चासोका साथ हेरिन्छ । राजनीतिक भाषामा ‘मालदार मन्त्रालय’ को उपमा पाएका धेरै बजेट र चलखेल हुने मन्त्रालयको जिम्मेवारीका लागि हानथाप नै हुने गरेको त बाहिरै चर्चा चल्ने गर्दछ । तर, त्यसमा ज्ञानको योग्यता भन्दा चाकरीको योग्यता पुगेपछि विज्ञता बिनाको मन्त्रालयको जिम्मेवारी दिइन्छ । जसका कारण आशै गरिएको व्यक्ति भए पनि मन्त्रीबाट बिदा हुने बेला हात लाग्यो शून्य बाहेक केही देखिँदैन ।
‘एउटा व्यक्तिको विज्ञता गृह प्रशासनमा हुन्छ उसलाई लगेर वन मन्त्रालयमा राखिदिएका हुन्छौँ । अर्को व्यक्तिको अर्थ मन्त्रालयसँग सम्बन्धित ज्ञान हुन्छ उसलाई अर्को ठाउँमा लगेर थन्काइदिन्छौँ,’ डा. घिमिरे भन्छन्, ‘कर्मचारी प्रशासनमा पनि दलीय पक्षधरताका आधारमा, नातावादको आधारमा र चाकरीको आधारमा नियम नै मिचेर सरुवा गरिरहेका हुन्छौँ भनेपछि त्यसलाई चिर्न नसकिएसम्म हामी विकासको गतिमा अघि बढ्न सक्दैनौँ ।’
हामी शक्ति पृथकीकरणको सिद्धान्तलाई अँगालेका छौँ । तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एक अर्काको संयोजन हेर्ने हो भने एकापसमा घुलमिल छन् । अरू त अरू न्यायपालिकामा समेत प्रस्टसँग राजनीतिक भागबन्डाहरू हुने गरेको हामीले देखेकै छौँ । यसरी हरेक विषयको निरूपण राजनीतिक तहमा जनताले खोजेको निष्पक्षता, इमानदारिता र पारदर्शिता भन्ने विषय ओझेलमा पर्दछ । जहाँ चाकरी र चाप्लुसीले प्रशय पाउँछ त्यहाँ प्रतिस्पर्धा र लगनशीलता भन्ने कुरा शब्दमा मात्र सीमित बन्न पुगेको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया