कर्णाली डेभलपमेन्ट बैंकमा अध्यक्ष र सीईओको मिलेमतोमा एक अर्ब २६ करोड रुपैयाँ अपचलन 

लोकपथ
77
Shares

काठमाडौं । केही दिन अघि नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै टेक ओभर गरेको कर्णाली डेभलपमेन्ट बैंकमा आर्थिक अपचलन भएको पाइएको छ । राष्ट्र बैंकले समस्याग्रस्त बैंक छानबिनका लागि गठन गरेको कार्यदलले एक अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य बाहिर ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्व वित्त विभाग प्रमुखको मिलेमतोमा एक अर्ब २६ करोड बराबरको रकम अपचलन भएको पाइएको खबर बाहिरिएको छ । 

राष्ट्र बैंकले पुस ५ गते गठन गरेको ५ सदस्यीय छानबिन समितिले आफ्नो प्रारम्भिक प्रतिवेदनमा बैंकको करिब एक अर्ब २६ करोड अपचलनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी तथा हालका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुख नीरजविक्रम शाहको संलग्नता रहेको जनाएको छ ।

समितिले कर्णाली डेभलपमेन्ट बैंकको अन्य बैकमा भएका खातामा रहेको रकम र बैंकको कोर बैंकिङ प्रणालीको रकम बीच अन्तर निकालेको छ । जसमा करिब एक अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त बैंकको विभिन्न बैंक खातामा रहेको मौज्दातलाई नक्कली ब्यालेन्स सिट मार्फत अपचलन गरेको अनुमान समितिको छ ।

उक्त बैंकको नेपाल राष्ट्र बैंकमा सीआरआर खातामा सन् २०८१ पुस ७ गतेसम्मको ब्यालेन्स सिटमा २२ करोड ७४ लाख मौज्दात देखिएको भए पनि हाल उक्त खातामा लगभग शून्य मौज्दात  रहेको समिति प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?