काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले बुधबारका लागि पत्रकार सम्मेलन बोलाएका छन् ।
परिवर्तित घटनाक्रम र आगामी कार्यनीतिबारे जानकारी दिन रावलले दिउँसो १ बजेका लागि कार्की ब्यांकेटमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
लामो समयदेखि एमालेमा रहे पनि जिम्मेवारीविहीन भएका रावलले पार्टी खोल्ने वा अन्य पार्टीमा जाने भन्ने चर्चा पनि चलिरहेको छ । यसैबीच बुधबार पत्रकार सम्मेलनमा नै रावलले पार्टी घोषणा गर्ने समेत चर्चा चलिरहेको छ ।
अहिले रावल टोखास्थित आफ्नो निवासमा बृहत् आन्तरिक छलफलमा छन् । आफूनिकटमा नेताहरुसँग बिहानैबाट रावल छलफलमा रहेको रावलका स्वकीयसचिव गोविन्द दुवालले लोकपथलाई जानकारी दिए ।
।
‘अहिले उहाँहरु गम्भीर छलफलमा हुनुहुन्छ । पर्सीको आन्तरिक तयारी र आगामी योजनाका विषयमा गम्भीर छलफल भइरहेको छ,’ दुवालले लोकपथसँग भने ।
त्यस्तै पर्सी नै पार्टी घोषणा गर्न सक्ने समेतको संकेत दुवालले गरे । पर्सी नै पार्टी घोषणा गर्ने भन्ने पनि बाहिरिएको छ नि भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘त्यो नहोला भन्न सकिँदैन । त्यसका लागि योजना र आन्तरिक तयारी भइरहेको मैले बुझेको छु ।’
त्यसो त आजै नेता रावलले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सूदुरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटघाट गरेका थिए । मल्लले नेपाली कांग्रेस छाडेर बीपी कांग्रेसतिर लागेका थिए भने जोशी एकीकृत समाजवादी छाडेर स्वतन्त्र सांसद बनेका हुन् ।
अन्य दलहरुबाट निस्किएका नेताहरुलाई एक ठाउँमा ल्याएर रावलले पार्टी गठन गर्ने र उक्त पार्टी गैरकम्युनिष्ट पार्टी बनाउने तयारी रहेको समेत बताइएको छ ।
पार्टी हित विपरित काम गरेको भन्दै रावललाई एमालेले पार्टी सदस्यबाटै निष्कासन गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उनलाई पार्टीबाटै निष्कासन गर्दा स्थायी कमिटी सदस्य रहेकी विन्दा पाण्डे र केन्द्रीय सदस्य रहेकी उषाकिरण तिम्सेनालाई ६ महिनाको लागि निलम्बन गरेको थियो । पार्टी निष्कासनमा परेका नेता रावल नयाँ पार्टी गठनको तयारीमा रहँदा कारबाहीमा परेका दुई नेतृ भने कारबाही फुकुवाको अवधिसम्म अन्य पार्टी वा नयाँ पार्टी बनाउनेतिर नलाग्ने बताइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया