ओलीको गृहजिल्ला पुगेर प्रचण्डको उद्घोष– ‘गिरीबन्धुको बेइमानी पर्दाफास गरेरै छाड्छु’

लोकपथ
217
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गामा भएको बेइमानीको पर्दाफास गर्ने उद्घोष गरेका छन् ।

सोमबार झापा पुगेका झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम गिरीबन्धुको जग्गा प्रकरणमा जोडिएको छ ।

ओलीकै गृहजिल्ला पुगेका बेला प्रचण्डले भने, ‘गिरीबन्धु टी–स्टेटमा भएको बेइमानीको पर्दाफास गरेरै छाड्छु । म उहाँ (केपी शर्मा ओली) को ठाउँमा आएर यो उद्घोष गरेँ ।’

त्यस्तै उनले माओवादीलाई पुनः सत्तामा पुर्याउन आग्रह गर्दै उनले आफूले यति–ओम्नी भ्रष्टाचारको काण्डको पर्दाफास गर्ने समेत बताए ।

प्रचण्डले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरे ।

आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उनले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताए ।

‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन,’ अध्यक्ष प्रचण्डले भने ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?