‘सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ’

लोकपथ
56
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताएका छन् ।

तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उनले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘नेपालको पहिचान र अमूल्य निधिका रूपमा रहेको विभिन्न जातजातीका भाषा, वेशभूषा, रितिरिवाज, रहनसहन तथा संस्कार र संस्कृतिलाई वर्तमानमा सक्रियताका साथ जोगाउने र भविष्यका सन्ततीलाई हस्तान्तण गर्न आवश्यक छ ।’

ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित र सम्वर्द्धन गर्न समाजका सबै पक्षले अरूलाई अप्ठ्यारो नपर्ने ढङ्गबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महोत्सवले तमू समुदायको कला, संस्कृति, पहिचान कायम राख्न अत्यन्तै जागरूक हुने बताए ।

सो अवसरमा पूर्वमन्त्रीत्रय देवप्रसाद गुरूङ, सीता गुरूङ, पार्वत गुरूङलगायतले कला, संस्कृति, वेशभूषा, नाचगान, चार्डपर्व मनाउने हिसाबले नेपालमा गुरूङ समुदाय समृद्ध रहेकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारको सहयोग आवश्यक रहेको बताए ।

त्यस अवसरमा गुरूङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरियो । नेपालमा पछिल्लो जनगणनाअनुसार गुरूङ समुदायको जनसङ्ख्या पाँच लाख ४५ हजार सात सय ९१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?