अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको आइतबार जर्जियाको प्लेन्स सहरमा १०० वर्षको उमेरमा निधन भएको छ । जिम्मीको पूरा नाम जेम्स अर्ल कार्टर जुनियर हो । उनको जन्म १ अक्टोबर १९२४ मा जर्जियाको प्लेन्समा भएको थियो । उनका दुई बहिनी र एक भाइ छन् । नर्स आमा र बदाम किसान बुबाका जेठा छोरा जिमी विश्वमा शान्ति स्थापना गर्न र लोकतन्त्रका अगुवाका रूपमा चिनिन्छन् ।
सन् १९८२ मा स्थापना गरिएको कार्टर सेन्टरमार्फत उनी विश्वमा शान्ति लोकतन्त्रका लागि आफूलाई उभ्याउन चाहन्थे । उनले विश्वभर यात्रा गरेर निर्वाचन अनुगमन गर्दै युद्ध अन्त्य र मानव अधिकारका लागि अथक प्रयास गरे ।
गत अक्टोबरमा आफ्नो १००औँ जन्मदिन मनाएका कार्टरले सन् २०१५ मा ९० वर्षको उमेरमा आफूलाई छालाको क्यान्सर भएको र उपचार भइरहेको उनले बताएका थिए । उनको निधनमा सोही रोग कारक बनेको बताइएको छ ।
एक सामान्य किसानदेखि नौसेना अफिसर हुँदै अमेरिकाको राष्ट्रपतिसम्मको कार्टरको संघर्षपूर्ण यात्रा निकै प्रेरणा दायक छ । सन् १९५३ मा बदाम किसान बुबाको मृत्युपछि जागिर छोडेर बुबाको पेसालाई अघि बढाएका जिमीले खेतीमा सफल भएपछि सामाजिक काम गर्दै राजनीतिमा सक्रिय भए ।
सन् १९४७ मा एलेनोर रोसालिन स्मिथसँग विवाह गरे । सोही वर्ष उनका छोरा जोन विलियम जन्मिए । सन् १९५० मा जेम्स अर्ल, १९५२ मा डोनल जेफ्फ्री र १९६७ मा छोरी एमी लिनको जन्म भयो ।
जिम्मी कार्टरको राष्ट्रपति यात्रा
कार्टर सन् १९६२ मा जर्जिया सिनेटमा चुनिएका थिए । १९६६ मा जर्जियाको गभर्नर पदका लागि उनी चुनाव लडे तर हारे । त्यसको ४ वर्षपछि सन् १९७० मा कार्टर जर्जियाको गभर्नर पदका लागि चुनावमा उठे र जिते ।
दुईपल्ट सिनेट चुनिएपछि उनी गभर्नर बनेका थिए । यसपछि उनले नागरिक अधिकारका लागि काम गरे । जिम्मी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९औँ राष्ट्रपति निर्वाचित भएका भए । राष्ट्रपति बनेपछि पहिलो घोषणामै उनले भियतनाम युद्धमा जान नमानेका अमेरिकी युवालाई माफी दिए । उनको यो निर्णयलाई उनका कटु आलोचक बेरी कोल्डवाटरले लज्जास्पद भने ।
राष्ट्रपति भएपछि गरेको पहिलो भाषणमा उनले नस्लीय भेदभावको अन्त्य भएको घोषणा गरे । अफ्रिकी मूलका अमेरिकीलाई सरकारी कार्यालयमा नियुक्ति दिने सन्देशका लागि उनले अमेरिकी संसद्को भित्तामा मार्टिन लुथर किङको तस्बिर टाँगेका थिए । महिलाहरूको रोजगारीको सन्दर्भमा उनले केही काम गरे । कार्टरले विभिन्न महत्त्वपूर्ण पदमा महिलालाई नियुक्त पनि गरे । जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिने उनी पहिलो अमेरिकी नेता थिए ।
उनले इजरायल र इजिप्ट बीच शान्ति सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेले तर, इरानमा बन्धक अमेरिकी नागरिक र अफगानिस्तानमा सोभियत संघको आक्रमणजस्ता घटनामा उनले ठुलै चुनौतीको सामना पर्यो ।
उनले सन् १९७९ मा चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्ने घोषणा गरे । आफ्नो कार्यकालको अन्तिम दिन उनले इरानसँगको बन्धक सङ्कट समाप्त भएको घोषणा गरेका थिए । तर, बन्धक बनाइएका नागरिक राष्ट्रपति रेगनको शपथ समारोहपछि मात्रै इरानबाट अमेरिका आएका थिए ।
नेपालको शान्ति प्रक्रियामा कार्टरको भूमिका
साधारण जीवनशैलीलाई प्राथमिकता दिएका जिम्मीले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउने काममा पनि योगदान गरेका छन् । सन् २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार तथा गरिबी निवारणका क्षेत्रमा पुर्याएको योगदान प्रेरणादायी छ ।
नेपालको शान्ति प्रक्रियाका समय कार्टर आफै नेपाल आएका थिए । नेपाल आउने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन् । नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।
कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवर्द्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गरेका थिए ।
जिम्मी सबैभन्दा लामो आयु जिउने अमेरिकी पूर्व राष्ट्रपति हुन् । उनकी श्रीमती एलेनोर रोसालिन स्मिथको गत वर्ष नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया