दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी 

राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो नै पहिलोपटक

लोकपथ
98
Shares

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो नै पहिलोपटक हो । उनलाई सियोल पश्चिम जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको त्यहाँको सञ्चार माध्यमले उल्लेख गरेको छ । 

दक्षिण कोरियामा कुनै उच्च अधिकारीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्नुपरे सियोल पश्चिमी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्दछ । संयुक्त जाँच मुख्यालयले मंगलबार विज्ञप्ति जारी गरी निलम्वित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि मंगलबार बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ ।

गत ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि निलम्बित राष्ट्रपति यून सुकलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्थासम्म ल्याइपुर्याएको हो । 

उनले चालेको कदमको विषयमा भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए । तर उनले उपस्थित हुन अस्वीकार गरेपछि अनुसन्धानमा बाधा पुगेको भन्दै सोमबार मात्रै राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जीको अनुमति माग भएको थियो । संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् ।

अहिले विषय संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुनअनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?