किसानलाई संरक्षण गर्न दमौलीमा महोत्सव हुने

लोकपथ
14
Shares

तनहुँ । लागत मूल्य नउठेर किसान पेसाबाट पलायन हुन नपरोस् भन्ने उद्देश्यले तनहुँको सदरमुकाम दमौलीमा महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाईको सह आयोजनामा पुस २५ गतेदेखि फागुन ७ गतेसम्म नवौँ तनहुँ महोत्सव हुने भएको हो ।

‘तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिइएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्ने लगायतले गर्दा जमिन बाँझो राख्ने क्रम बढेकाले पेसा संरक्षण गर्न महोत्सव गर्नु परेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए ।

बिचौलियाको माध्यमबाट सस्तोमा बेच्नुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोक्ताले महँगो मूल्यमा किन्नु पर्ने बाध्यता भएकोले किसानलाई संरक्षण गर्न महोत्सव गर्नु परेको मिश्रले बताए । मिश्रले भने, ‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्देश्यले महोत्सव गर्न लागेका हौँ, किसानलाई स्टलको पैसा तिर्नुपर्दैन ।’ किसानलाई बढी फाइदा होस् भनेर पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भइरहेको मिश्रले जानकारी दिए । 

हौसला दिन उत्कृष्ट किसानलाई सम्मान गरिने उनले बताए । महोत्सव पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुने आयोजकले जनाएको छ । कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कृषि अन्तर्गत कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदे बाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ । 

महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगायत मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव अधिकारी बताउँछन् । 

त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवर्द्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवर्द्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठले  महोत्सवमा दुई सय वटा स्टलहरू रहने र एक सय वटा बुकिङ भइसकेको जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?