यी हुन् नागार्जुनका निलम्बित नगर प्रमुख बस्नेतका थप काला कर्तुतहरु

लोकपथ
2.3k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेसँगै उनका थप कर्तुत सार्वजनिक भइरहेका छन् ।

पदीय दायित्वमा रहँदा बोल्न नसकेकाहरु अख्तियारले मुद्धा दायर गरेसँगै उनले सर्वसाधारण नागरिकमाथि गरेको अन्याय र अत्याचार तथा राज्यमाथि गरेको दोहनबारे बाहिर ल्याउन थालेका छन् । अख्तियारले उनीमाथि घुस खाएको र सम्पत्ति शुद्धीकरणमा जति बिगो मागदाबी गरेको छ, त्यो भन्दा धेरै नै उनले भ्रष्टाचार गरेको उनलाई विगतदेखि नै चिन्ने जान्नेहरुको भनाइ छ ।

अख्तियारले गत आइतबार मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको थियो ।

बस्नेत २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा लगालग नागार्जुन नगरपालिकाका प्रमुखमा विजयी भएका थिए । पहिलो कार्यकालमै भ्रष्टको छबी बनाएका उनलाई २०७९ सालको निर्वाचनमा टिकट दिन नहुने भन्दै नागार्जुन कांग्रेसले चर्काे लबिङ पनि गरेको थियो ।

तर कांग्रेस सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले उनको नाममा चट्टानी अडान लिँदा नागार्जुन कांग्रेसको इमान्दार नेता/कार्यकर्ताको केही जोड चलेन । टिकट उनैले पाएपछि पार्टीलाई जिताउने नाममा उनको प्रचार प्रसारमा लाग्नुको विकल्प पनि उनीहरुसँग भएन । माओवादीसहितको तत्कालीन सत्ता गठबन्धनका कारण उनी दोस्रो पटक पनि विजयी भए । दोस्रो कार्यकालमा सुधारको अपेक्षा गरेका कांग्रेस नेता/कार्यकर्ता उनले भ्रष्ट आचरण नछाडेपछि चिन्तित बनिरहेकै समयमा उनीमाथि अख्तियारले मुद्धा दायर गरेको हो ।

नगर प्रमुख (हाल निलम्बित) बस्नेतले नागार्जुन नगरपालिकाअन्तर्गतको ३, ५, ६, ७ र ८ वडाको सार्वजनिक जग्गामा दोहन गरेको स्थानीयवासीको आरोप छ । नगरमातहतका वन, खोला र खोलाका मुहानलाई दुरुपयोग गरी प्लटिङ गर्न अनुमति दिएको आरोप पनि उनीमाथि छ…

नगर प्रमुख (हाल निलम्बित) बस्नेतले नागार्जुन नगरपालिकाअन्तर्गतको ३, ५, ६, ७ र ८ वडाको सार्वजनिक जग्गामा दोहन गरेको स्थानीयवासीको आरोप छ । नगरमातहतका वन, खोला र खोलाका मुहानलाई दुरुपयोग गरी प्लटिङ गर्न अनुमति दिएको आरोप पनि उनीमाथि छ ।

यस्तै, वडा नम्बर ५ को हरिसिद्धीस्थित सामुदायिक वन मासेर प्लटिङका लागि पुरेको आरोप पनि उनीमाथि छ । प्लटिङका लागि पुर्ने कार्य अहिले पनि जारी नै छ ।नगर प्रमुख भएपछि प्लटिङवालालाई नगरपालिकाबाट बजेट नै छुट्याइ प्लटिङ गर्न दिएको आरोप पनि उनीमाथि लाग्दै आएको थियो । यतिमात्र नभई उनले प्लटिङ गर्न डोजर आफै उपलब्ध गराउने गरेका थिए ।उनी नगर प्रमुख भएपछि नगरपालिकाका लागि जुन डोजर र ट्रक किनियो, त्यसमा पनि प्रक्रिया पुर्याइएको छैन । नियमतः डोजर र ट्रक किन्न एलसी खोल्नु पथ्र्याे । तर, उनले व्यक्तिले किनेको डोजर र ट्रक नगरपालिकाका लागि खरिद गरेका थिए । यसमा पनि उनले भ्रष्टाचार गरेको उनलाई नजिकबाट चिन्ने जान्नेहरु बताउँछन् ।

यस्तै, नगरपालिकाको बजेटमा ठेकेदारलाई पोस्ने र ठेकेदारबाट रकम असुल्ने गरेको आरोप पनि उनीमाथि छ । ठेकेदारले रकम माग नगरेको अवस्थामा पनि नगरको बजेट उनीहरुलाई दिने गरेको आरोप उनीमाथि छ । यो विषय चर्काेरुपमा उठेपछि उपप्रमुखको नेतृत्वमा अनुगमनसमेत भएको थियो । अनुगमनमा साल मात्रै खुलाई महिना र गते उल्लेख नै नगरी रकम दिइएको खुलासा भएको थियो । यो काममा भने वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष प्रेमलाल श्रेष्ठले पनि उनलाई साथ दिएका थिए ।
उनीमाथि ठेकेदारसँगको मिलेमतोमा सार्वजनिक जग्गामा विभिन्न संघ संस्थाको भवन बनाएर भ्रष्टाचार गरेको आरोप पनि छ ।

यस्तै, नगरपालिकाका लागि स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी नियुक्त गर्दा पनि रकम उठाउने गरेको आरोप उनीमाथि छ ।
उनको यही भ्रष्ट छबीका कारण उनको पहिलो कार्यकालमै उनीमाथि अख्तियारमा मुद्धा दायर भएको थियो । अख्तियारमा २०७६ साल बैशाख २९ गते दायर मुद्धाको दर्ता नम्बर २६४६६ रहेको छ ।

उनीमाथि भ्रष्टाचारमार्फत् आर्जन गरेको रकम अमेरिका बस्ने छोरीमार्फत् लुकाउने गरेको आरोप पनि छ ।

उनी राजनीतिमा छिर्नुअघि नेपाली सेनामा थिए । नेपाली कांग्रेस प्रवेश गर्ने बेला पनि उनले आफ्नो श्रीमतीलाई सरकारी विद्यालयमा जागिर दिए मात्रै प्रवेश गर्ने अड्डी लिएका थिए । उनको यस्तै अड्डी र भ्रष्ट व्यवहारका कारण उनी अख्तियारको फन्दामा पर्ने निश्चित थियो नै, श्रीमतीलाई पनि अख्तियारले मुद्धा चलाउनुपर्ने अवस्था बनायो । यद्यपि, उनीहरुको डिभोर्स भने भइसकेको छ । सो डिभोर्स पनि भ्रष्टाचारबाट कमाएको रकमबाट बच्न गरिएको भन्ने जमात पनि ठूलै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?