पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भए पनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

लोकपथ
7
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भए पनि नेपालले उपयोग गर्न नसकेको बताएका छन् । 

मंगलबार नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्  । उनले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भावना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भए पनि पर्यटन क्षेत्रले स्वरोजगार र जिडिपीमा न्यूनतम मात्रै योगदान गरेको बताए । उनले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताए । पर्यटन सम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ । देशको स्वरोजगारीमा अथवा जिडिपीमा न्यूनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यी कथाहरू भनिमात्रै रहने हो, दाहोर्‍याइमात्रै रहने हो भने पुराणा वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्न सक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन । यसका लागि हामीले परिणाम ल्याउनुपर्छ । हाम्रा सबै निकायहरू यहाँ हुनुहुन्छ । निकायहरू समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।’

मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । उनले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताए । नेपाल आउने पर्यटकहरूलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवर्द्धनका लागि नेपालको प्रचार हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?