राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : महेन्द्र–वीरेन्द्र, बीपी र भारत

राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरी २०१७ साल पुस १ गते शासन सत्ता आफ्नो हातमा लिए ।

बामे सर्न लागेको प्रजातन्त्रलाई राजाले मासेर आफ्नो निरंकुशता प्रदर्शन गर्न सुरु गरेपछि थप अस्थिरताको बीजारोपण भएको थियो ।

राणाबाट शासन सत्ता खोसेर जनतामा निहित बनाइसकेपछि केही वर्षमा नै दरबारलाई थप शक्ति आर्जन गर्ने महत्वकांक्षासँग लिएर हेरिन्छ २०१७ साल पुस १ को घटना । सोही दिन बीपीलगायतका नेताहरूलाई जेलमा हाल्दै महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागु गरे । तर त्यसको आठ वर्षपछि ०२५ सालमा बीपीलाई उपचारमा जाने सर्तमा छाडियो । लामो संघर्षपश्चात् राणा शासन ढालेर प्रजातन्त्र ल्याएका बीपीलाई राजाको व्यवहार सैह्य हुने कुरै थिएन । निरंकुश जहाँनीय राणा शासन नै ढालेका बीपी उपचारका लागि भन्दै भारत पुगेका थिए । केही समय भारतमा उपचार गरेर फर्किएपछि उनी नेपाल नै फर्किए । पुनः जेल परिने डर र त्यसले आन्दोलनलाई कमजोर बनाउने भन्दै बीपी पुनः भारततिरै लागे । बीपीले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्, ‘यस्तो परिस्थितिमा मैले जेल जान उचित हुँदैन, यस परिस्थितिलाई क्रान्तिकारी बिन्दुमा पुर्याउनुपर्छ भनेर मैले नेपाल छाड्ने निर्णय गरेँ ।’

भारतमा आफ्नो उपचार गराउँदै नेपालमा जरो गाडिएको निरंकुश राजतन्त्रको उपचार समेत उतैबाट खोज्न थाले । भारत नेपालको राजनीतिमा जति अहिले हस्तक्षेप गर्दथ्यो, त्यतिबेला पनि उसको शैली उस्तै थियो । कहिले राजासँग त कहिले नेताहरूसँग मिलेर नेपालको राजनीतिमा सन्तुलन कायम राख्न भारत खप्पिस थियो । भर्खरै ब्रिटिसको उपनिवेशबाट बाहिर निस्किएको भारतलाई विश्वमा साम्राज्य फैलाउने महत्वकांक्षा छँदै थियो । २००७ सालको परिवर्तन, राजा त्रिभुवनलाई परिवारसहित भारतमा शरण, ज्ञानेन्द्रलाई ‘बेबी किङ’ र नेताहरूलाई राणा फाल्न भारतको सहयोग । त्यसमा कतै न कतै भारतको सहयोग थियो । भारतका सेनाध्यक्षले २०१७ मंसिर २८ गते राजा महेन्द्रसँग भेट गरी फर्किएको केही दिनपछि नै राजा महेन्द्रको ‘कु’ । जसलाई संयोग भन्दा बढी इच्छाको रूपमा समेत हेरिन्छ ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बीपी चाहन्थे, नेपालीहरूलाई सैन्य तालिम दिनुपर्छ । यदि नेपालमा कुनै युद्ध भयो वा बाह्य पक्षले आक्रमण गर्न खोज्यो भने तालिमप्राप्त जनतालाई उतार्न सकिन्छ जसबाट ठूलो धनराशि जोगाउन सकिन्छ ।

बेलायती सैन्य मोडलमा रहेको नेपालको सैनिक मोडललाई इजरायली मोडलमा ढाल्न बीपीले गरेको प्रयत्न नै बीपीका लागि घातक बनिदियो । अझ आफैँले कांग्रेसको महामन्त्री बनाएका कुटिल पात्र डा. तुल्सी गिरीले परराष्ट्रमन्त्रीबाट राजीनामा दिँदै महेन्द्रले गरेको परीक्षणमा उत्तीर्ण भई दरबारतिर लाग्दा बीपीलगायतका नेताहरूमा थप संकट चुलियो ।

प्रधानमन्त्रीका रूपमा १० दिन इजरायलमा बसेर कूटनीतिक सम्बन्ध गाँसेका बीपीले नेपालको सेनालाई इजरायली मोडलमा लैजाने तयारी गरेका थिए । सो क्रममा तत्कालीन इजरायलका रक्षामन्त्रीले दिएको केही थान हतियार उपहार नै राजामा थप शंका पैदा गर्ने माध्यम बनिदियो । त्यति मात्र होइन बीपी इजरायलमै रहेका बेला राजा महेन्द्रले टेलिग्राममार्फत् अहिले पठाएको सन्देश बीपीले अस्वीकार गरेका थिए । त्यसबाट राजा मुरमुरिएका थिए । बीपीको इजरायल भ्रमणले आफूलाई इजिप्ट भ्रमण गर्न अप्ठेरो परेको बताएका थिए । यी र यस्तै घटनाक्रमले २०१७ पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको सरकार अपदस्त गरी नेताहरूलाई जेल हाल्नेसम्मको हर्कतमा पुगे ।

भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४८ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन् ।

यता प्रजातन्त्र स्थापनापछि बीपी नेपाललाई चीन र भारत बाहेक पनि अन्तर्राष्ट्रिय रूपमा मित्रराष्ट्र बनाउन चाहन्थे । तर त्यसमा छिमेकी देश भारतका लागि टाउको दुखाइ बनेको थियो ।

बीपी स्वदेश फर्किएलगत्तै भारतले बीपी अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र उपहारस्वरूप हतियार नै पाएको विषय भारतका लागि सैह्य भएन । राजा महेन्द्रलाई तत्कालीन राजदूतले तत्काल भेटेर त्यसबारे जानकारी गराएपछि महेन्द्रले बीपीले उपहारस्वरूप पाएको हतियार नै जफत गरिदिए । जब २०१७ को घटना घट्यो तब राजा महेन्द्रको सम्बन्ध चीनतिर हुन थाल्यो ।

२०१८ सालमा जब महेन्द्रले चीनसँग नेपाल तिब्बत जोड्ने कोदारी राजमार्ग निर्माणको बाटो खोले, त्यसले नेपालीहरूले ठुलो मूल्य चुकाउनुपर्यो । यानेकी नेपालले पहिलोपटक भारतको नाकाबन्दी खेप्नुपर्यो । त्यसै बेला निर्वासनमा रहेका सुवर्णशमशलगायतका कांग्रेस नेताहरूलाई भारतले महेन्द्र र पञ्चायतविरुद्ध लड्न हतियार नै दिएको कुरा कुनै अन्तर्वार्तामा बीपीले बताएका थिए । यी त भए २००७ देखि १७ साल र त्यसबीचका केही घटनाक्रमबारे संक्षेपीकरण । यसभन्दा तल बीपीको मेलमिलाप नीति, आजको औचित्य र आजसम्मको घटनाक्रमबारे चर्चा गरिएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

आज २०८१ साल पुस १६ गते अर्थात् नेपाली राजनीतिको एक महत्वपूर्ण दिन । आज भन्दा ठ्याक्कै ४८ वर्ष पहिले यानेकी २०३३ साल पुस १६ गते नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । कांग्रेसका संस्थापक नेतासमेत रहेका बीपीको नेतृत्वमा भारत निर्वासनमा रहेका सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । सो दिन बीपीलाई विमान ढोकाबाटै पक्राउ गरेर बन्दी बनाइयो ।

२०१७ साल पुस १ गतेको ‘कु’ पछि बीपीलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर जेल स्थानान्तरण गरियो । तर त्यसको ८ वर्षपछि अर्थात् २०२५ सालमा बीपीलाई रिहा गरिएको थियो । आठ वर्षपछि विसं २०२५ कात्तिक १४ उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । घाँटीको क्यान्सरको उपचारपछि केही नेपाल फर्किएर केही समय नेपाल बसेर पुनः पक्राउ परिने डरले बीपी पुन भारतमै गएका थिए ।

त्यसो त पञ्चायतविरुद्ध गरिएको सशस्त्र संघर्ष सफल नहुनु, भारतमा इन्दिरा गान्धीको जगजगी र भारतमा सिक्किमको विलय र इन्दिरा गान्धीको विरुद्धमा रहेका नेताहरूसँग बीपीको हिमचिमका कारण नै उनमा थप असहज बनेको थियो । त्यही कारण बीपी नेपाल फर्किने निर्णयमा पुगेका थिए । बीपीलाई मेलमिलापको नीति लिएर स्वदेश फर्किएको भनिए पनि अन्य नेताहरूसहित विमानको ढोकैबाट पक्राउ गरेर जेल पु-याइएको थियो । त्यसको पाँच महिनापछि अर्थात् २०३४ साल जेठ २७ गते पुनः उपचारका लागि भन्दै रिहा गरिएको थियो । उनी अमेरिकामा गई उपचार गरेर कात्तिक २३ गते नेपाल फर्किए तर उनलाई पुनः पक्राउ गरी थुनामा राखियो । त्यसबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत बीपीबारे चासो बढ्न थालेपछि उनलाई तत्कालीन राजा वीरेन्द्रले २०३४ साल फागुन १२ गते पुनः रिहा गरेका थिए । त्यसबेला बीपी देश दौडाहामा निस्किएका थिए । त्यसपछि भने उनलाई पक्राउ गरिएन ।

तत्कालीन राजा महेन्द्र र बीपी कोइराला

बीपी मेलमिलापको नीति लिएर फर्किनुमा आन्तरिक र बाह्य दुवैको भूमिका महत्वपूर्ण छ । आन्तरिक कारणमा नेपालमा बढ्दै गइरहेको कम्युनिस्ट पार्टीको प्रभाव थियो । बाह्य कारण भनेको भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४८ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन् ।

राणाहरूको चरम यातना भोगेका बीपी राष्ट्रियता र प्रजातन्त्रका लागि कोही कसैसँग सम्झौता गर्नु हुँदैन भन्ने पक्षमा थिए । तर भारतमा समेत अप्ठेरो अवस्था भएपछि पुनः प्रजातन्त्र पुनस्र्थापना गर्ने धोको उनमा देखिन्थ्यो । बीपी नेपाल फर्किने बित्तिकै हवाई अपहरणको मुद्दा लगाउने दरबारको तयारी थियो । उनीमाथि अन्य ८ वटा मुद्दाहरू रहेका थिए, जहाँ मृत्युदण्डको सजाय थियो । तर त्यसलाई कुनै प्रवाह नगरी उनी आफ्नै मुलुकमा प्रजातन्त्र पुनस्र्थापित गरी आर्थिक रूपमा सम्पन्न गराउने संकल्प बीपीमा थियो । महेन्द्रले लादेको निरंकुश पञ्चायती व्यवस्था वीरेन्द्रसम्म आइपुग्दा पनि उही छ या कम भइरहेको छ भन्ने परीक्षण गर्न बीपी चाहन्थे । निर्वासनमा जाँदा महेन्द्र राजाको रूपमा थिए तर उनी फर्किँदा भने ०२८ साल माघ २८ मा निधन भइसकेको थियो ।

निर्वासनबाट फर्किने तयारीका क्रममा भारतको पटनामा बीपीले ‘म फेरि जेल पर्न सक्छु’ भन्ने वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यमा उनले भनेका थिए, ‘राष्ट्रिय एकता नभई नेपालले नयाँ सन्दर्भमा आफ्नो कुनै भूमिका पूरा गर्न सक्दैन । तसर्थ म राष्ट्रिय एकतामा विशेष जोड दिन चाहन्छु । विभिन्न राजनीतिक पार्टी वा व्यक्तिहरू वा नेताहरू र आम जनताबीच आधारभूत राजनीतिक मूल्यको आधारमा एकता हुन आवश्यक छ । मेरो विचारमा त्यस्तो राष्ट्रिय एकताको जग जनताको पूर्ण आस्था भएका जनप्रिय संस्थाहरू नै हुन् । तसर्थ त्यस्ता संस्थाहरू निर्माण गर्नु नै आजको आवश्यकता हो ।’

यही ध्येयका साथ बीपी स्वदेश फर्किने मनस्थितिमा थिए । यता नयाँ राजा बनेर केही वर्ष शासन सत्ता सम्हालेका वीरेन्द्रलाई बुबा महेन्द्रले हालेको पञ्चायती व्यवस्थालाई मलजल गर्न हम्मेहम्मे परेको थियो । बाह्य दबाब र दरबारका नाममा समेत नयाँ नयाँ शक्तिकेन्द्रहरू उदाउन थालेका थिए । घरेलु दृश्य मात्र नभएर एसियाको र दक्षिण एसियाको भूराजनीतिमा समेत व्यापक बदलाव आएको थियो । यही मेसोमा नेपाल आएमा आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ भन्ने उनको ध्याय पूरा हुन भने लामो समय लाग्यो । जतिबेला बीपी कोइराला धर्तीबाट अस्ताइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?